नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी महाधिवेशनले पार्टी नेतृत्वमा ५० प्रतिशत युवाहरूलाई स्थापित गर्ने बताएका छन्।
मङ्गलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन युवाहरूको प्रतिनिधित्व अनिवार्य भएको उल्लेख गरे।
खनालले पार्टीको आगामी कार्यदिशा र नेतृत्वका विषयमा बोल्दै युवाहरूलाई जिम्मेवारी दिएर अघि बढाउने योजना रहेको सुनाए।
उनले भने, ‘हामी युवाहरूलाई पार्टीमा ल्याएर मात्र पुग्दैन, उनीहरूलाई नेतृत्वदायी भूमिका र उचित दायित्व दिन तयार छौं। आगामी महाधिवेशनले यसलाई सुनिश्चित गर्नेछ।’
सुदूरपश्चिमको इन्चार्जका रूपमा भीम रावललाई प्रस्ताव गरिएको चर्चाका विषयमा सोधिएको प्रश्नमा उनले नेतृत्वमा यसबारे थप छलफल हुने बताए।
खनालले आफू हाल कुनै विशेष विभागको जिम्मेवारीमा नरहेको र कार्यभार विहीन अवस्थामा रहेको समेत जानकारी दिए।
यसैबिच, नेकपाको बैठकले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र समृद्धिसहितको समाजवादको लक्ष्यमा अघि बढ्ने सङ्कल्प दोहोर्याएको छ।
पार्टीले सामन्तवादका अवशेषहरू अन्त्य गर्दै दलाल नोकरशाही पुँजीवाद विरुद्ध सङ्घर्ष गर्ने नीति लिएको छ।
बैठकले सुकुम्वासी तथा भूमिहीनहरूको समस्याका विषयमा पनि सरकारको ध्यानाकर्षण्गराएको छ। वास्तविक सुकुम्वासीहरूको पहिचान र विकल्प विना बसोबास हटाइनु गलत भएको भन्दै पार्टीले आपत्ति जनाएको छ।
‘पहिले वास्तविक सुकुम्वासी को हुन् भन्ने स्क्रिनिङ हुनुपर्छ, त्यसपछि मात्र विकल्पसहित
व्यवस्थापन गरिनुपर्छ,’ पार्टीले भनेको छ, ‘विकल्प विना उठिबास लगाइए हामी सुकुम्वासीका पक्षमा विरोधमा उत्रन बाध्य हुनेछौं।’
पार्टीले आगामी महाधिवेशनको कार्यतालिका पारित गर्नुका साथै प्रदेश कार्यविभाजन र अन्य आन्तरिक सङ्गठनात्मक निर्णयहरू समेत गरेको छ।
सरकारका राम्रा कामको समर्थन र जनविरोधी कदमको आलोचना गर्ने नीति पार्टीले अख्तियार गरेको छ।
प्रकाशित: १५ वैशाख २०८३ १८:२९ मंगलबार





