जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार जनताप्रति उत्तरदायी र संसद्प्रति जवाफदेही नभएको आरोप लगाएकी छन्।
एकपछि अर्को अलोकतान्त्रिक घटना भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत पाण्डेले यस्तो आरोप लगाएकी हुन्। उनले कहिले मिडिया हाउस अगाडि गाडी तेर्स्याउने, कहिले अधिकारकर्मीमाथि हातपात गर्ने, कहिले हातखुट्टा भाँचिदिने धम्की दिने र कहिले न्यूजरुमबाटै पत्रकारलाई उठाएर लैजाने घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
'न जनताप्रति कुनै उत्तरदायित्व छ, न त कुनै डर छ, न सदन प्रति नै जवाफदेहिता। कहिले मिडिया हाउसअगाडि गाडी तेर्स्याउने, कहिले अधिकारकर्मीमाथि हातपात गर्ने, कहिले कसैका हातखुट्टा भाँच्दिने धम्की दिने, त कहिले न्युजरुमबाटै पत्रकार उठाएर लैजाने! एकपछि अर्को अलोकतान्त्रिक काण्ड घटाएर विषयान्तर गर्ने!' उनले भनेकी छन्।
पाण्डेले आफ्नै सुरक्षा निकायले के गर्यो भन्ने विषयमा प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको प्रसंगलाई समेत प्रश्न गरेकी छन्। 'देशले अरूको भूभाग मिचेको छ भनेर कसैलाई थाहा नभएको कुरा थाहा पाउने सर्वज्ञानीले, आफ्नै सुरक्षा निकायले के गर्यो भन्ने चाहिँ थाहा थिएन भनिदिने— अनि हामीले पत्याइदिनुपर्ने?' उनले प्रश्न गरेकी छन्।
उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै देशलाई नै ‘लुडो’ बनाएको टिप्पणी गरिन्।
'देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको सम्पूर्ण श्रेय पनि आफैँ लिनुहोस् प्रधानमन्त्रीज्यू!' पाण्डेले भनेकी छन्।
प्रकाशित: १४ कार्तिक २०८३ १३:५२ शनिबार





