१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

मोबाइल बिना बाँच्न नसक्ने युवाहरूलाई गलत तत्वले भड्काए: पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनमा युवाहरूको सूचना प्रविधिप्रतिको अत्यधिक लतलाई गलत तत्वहरूले आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरेको आरोप लगाएका छन्।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले युवाहरूलाई नियोजित रूपमा भड्काइएको बताए।

पोखरेलले भने, ‘हाम्रा युवाहरू सूचना प्रविधिमा यति ज्यादा लत बसिसकेको अवस्था रहेछ कि उनीहरू बरु भात छोड्न सक्ने, परिवार छोड्न सक्ने तर मोबाइल छोड्न नसक्ने तहको लतमा पुगेका छन्।’ उनले युवाहरूको यही कमजोरीमा खेलेर गलत तत्वहरूले उनीहरूलाई भड्काउन सफल भएको दाबी गरे।

उनका अनुसार यी आन्दोलनहरू माग पूरा गर्ने उद्देश्यले भन्दा पनि परिस्थितिलाई आफ्नो स्वार्थ अनुसार भड्काउने नियतले सञ्चालन गरिएको थियो।

महासचिव पोखरेलले जेन-जीको नामकरण पश्चिमा पुँजीवादीहरूको अवधारणा भएको र यसलाई नेपालको परम्पराविपरीत युवाहरूलाई संगठित गर्न प्रयोग गरिएको तर्क गरे।

उनले भने, ‘पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनका लागि ’डिप स्टेट’ को अवधारणा अन्तर्गत ‘कलर रिभोलुसन’ गर्ने प्रयोजनका लागि नयाँ पुस्तालाई फरक हो भन्ने नियोजित मनोविज्ञान तयार पारे।’

उनले आन्दोलनकारी युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र सूचना प्रविधिको निर्बाध प्रयोग जस्ता मागहरू जायज भए पनि ती मागहरू सरकारसमक्ष विधिवत रूपमा प्रस्तुत नै नभएको बताए।

‘माग प्रस्तुतै नभइकन, नेतृत्व नै नदेखिकन राज्यले संवाद गर्ने कुरा सम्भव हुँदैन,’ पोखरेलले भने।

उनले आफ्नो सरकारले सूचना प्रविधिलाई प्रवर्द्धन गर्न ऐतिहासिक काम गरेको दाबी गरे। ‘हाम्रो सरकारले सूचना प्रविधिमा नेपाली युवाहरूलाई विदेशमा समेत लगानी गर्न पाउने छुट दिएको थियो, जुन व्यवस्था अन्य कुनै क्षेत्रमा छैन,’ उनले भने। तर, युवाहरूले सरकारको यो युवामैत्री र प्रविधिमैत्री नीतिको महत्त्व बुझ्न नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो।

प्रकाशित: १७ कार्तिक २०८२ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App