पूर्व प्रधानमन्त्री सुशिला कार्कीले महिलाहरू इमान्दार र जिद्दी हुने तथा बेइमानीमा साथ नदिने भएकाले उनीहरूलाई राज्यका उच्च निकायमा पुग्नबाट रोक्ने गरिएको बताएकी छन्।
नेपाल रिपब्लिक मिडियाको स्थापना दिवसका अवसरमा आयोजित ‘नागरिक नायक’ घोषणा कार्यक्रममा बोल्दै उनले महिलाका पारिवारिक, सामाजिक र पेसागत चुनौतीकाबारेमा बताएकी हुन्।
उनले आफू प्रधानन्यायाधीश बन्ने बेलामा पुरुष नेतृत्व र राजनीतिज्ञहरूबाट भोगेको अवरोधदेखि घरमा सासू–बुहारीको बदलिँदो सम्बन्धसम्मका दृष्टान्तहरू प्रस्तुत गरिन्।
‘होटेल–होटेलमा मिटिङ गरेर मलाई रोक्न खोजियो’ आफू प्रधानन्यायाधीश बन्ने बेलामा राजनीतिक दलका नेताहरूले गरेको षड्यन्त्रबारे कार्कीले भनिन्, ‘मलाई प्रधानन्यायाधीश हुन कम गाह्रो भयो र ? मलाई रोकेर कुनै पुरुषलाई प्रधानन्यायाधीश बनाउन पार्टी प्यालेस र होटेल–होटेलमा मिटिङहरू गरिए।’
उनले नेताहरूले क्षमता र इमान्दारिताभन्दा पनि आफूलाई साथ दिन्छ कि दिँदैन भनेर हेर्ने गरेको बताइन्। ‘महिलाहरू जिद्दी हुन्छन्, बेइमानीलाई सपोर्ट गर्दैनन्। त्यसैले पदमा पुर्याउन उनीहरू हिचकिचाउँछन्,’ उनले भनिन्, ‘उनीहरूलाई सपोर्ट गर्छ कि गर्दैन भन्ने आधारमा नियुक्ति दिने वा नदिने निर्णय गरिन्छ। कुनै पनि पुरुषले सपोर्ट गर्दैन भने त्यस्तो इमान्दार पुरुषको पनि यिनीहरूले त्यही हालत गर्छन्।’
महिलाहरूले करिअर बनाउन पुरुषको तुलनामा दोब्बर सङ्घर्ष गर्नुपर्ने यथार्थ उनले आफ्नो व्यक्तिगत अनुभवबाट सुनाइन्। वकालत पेसामा रहँदा सुत्केरी भएको केही दिनमै काममा फर्किनुपरेको स्मरण गर्दै उनले भनिन्, ‘म आफैँ २१/२२ दिनको सुत्केरी हुँदा मुद्दामा बहस गर्न गएकी छु। वकालत यस्तो पेसा हो, जहाँ एक महिना काम छोडियो भने तपाईं आउट हुनुहुन्छ। त्यसैले महिलाले निकै मिहिनेत गर्नुपर्छ।’
महिलालाई अगाडि बढ्न परिवारको ठूलो साथ चाहिने भन्दै उनले सिङ्गापुरको उदाहरण दिइन्। सिङ्गापुरमा महिलाहरू काममा जाँदा बालबच्चाको हेरचाह आमा, हजुरआमा वा माइजूहरूले गरिदिने संस्कार रहेको र नेपालमा पनि त्यस्तो पारिवारिक सहयोगकै कारण महिलाहरू अगाडि बढ्न सकेको उनले बताइन्।
कार्यक्रममा उनले समाजमा सासू र बुहारीको परम्परागत भूमिका कसरी उल्टिएको छ भन्ने कुरालाई निकै व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिन्।
‘पहिलेका सासूहरूको पालामा बुहारीले घरको काम गर्नुपर्ने, सासू–ससुरा र श्रीमान्देखि संसारलाई रिझाउनुपर्ने हुन्थ्यो। एउटी महिलाले संसार कसरी रिझाउन सक्छे ?’ उनले हँसाउँदै भनिन्, ‘तर अहिले हामी सासूहरू त्यस्तो छैनौं। हामी त अहिले डटर–इन–ल (बुहारी) कै ठाउँमा पुगिसक्यौं। पहिलेका बुहारी जस्ता थियौं, अहिलेका सासू त्यस्तै छौं। हाम्रा बुहारीहरू राम्रा छन्, हामीलाई माया गर्छन् र हामी बुहारीलाई कफी बनाएर दिन्छौं।’
देशमा ५० प्रतिशतभन्दा बढी महिला भए पनि उच्च पदहरूमा अझै पुरुषहरूकै हालीमुहाली रहेको र महिलाले क्षमता प्रमाणित गरेरै ती ‘ग्लास सिलिङ’ फोड्दै अगाडि बढ्नुपर्नेमा पूर्वप्रधानमन्त्री कार्कीले जोड दिइन्।
प्रकाशित: १३ वैशाख २०८३ २१:०६ आइतबार





