२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ।

अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेकी थिइन्। उनले तत्कालीन सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट तथा छ जना प्रदेशसभा सदस्यले दिएको राजीनाबारे सभालाई जानकारी गराइन्।

उपसभामुख चापागाईंले सभामुख एवम् उपसभामुख बैठकमा अनुपस्थित रहेको अवस्थामा सभा सञ्चालनका लागि मनोनीत गरेका चार सदस्यको नाम बैठकले स्वीकृत गरेको छ। मनोनीत हुनेहरू सुना परियार, सुष्मा भुजेल न्यौपाने, हरिप्रसाद सापकोटा र लक्ष्मी घिमिरे छन्।

बैठकको विशेष समयमा सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि काम गर्ने बताए। उनले प्रदेशका विभिन्न जिल्लामा बहुवर्षीय योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ। 

प्रकाशित: २४ चैत्र २०८२ २०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App