२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

झापा-५ बाट चुनाव लड्लान बालेन?

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदैछ। फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुनेतर्फ माघ ६ गते मनोनयन दर्ताको समय तोकिएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) कहाँबाट चुनाव लड्छन् भन्ने चर्चा सुरु भइसकेको छ। रास्वपाका वरिष्ठ नेता बालेनले काठमाडौंका कुनै निर्वाचन क्षेत्र रोज्छन् वा आफ्नो घर भएको जिल्ला महोत्तरीबाट चुनावमा प्रतिस्पर्धा गर्छन् भन्ने अनुमानका बीच पछिल्लो समय एउटा खबर बाहिरिएको छ, बालेन झापाको क्षेत्र नम्बर ५ बाट चुनावमा होमिन्छन्। झापा क्षेत्र नम्बर ५ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। पहिलो संविधानसभा निर्वाचन बाहेक हरेक निर्वाचनमा ओली उक्त क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन्। झापा-५ मा दमक नगरपालिका र कमल गाउँपालिकाको सबै क्षेत्र, गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि ८ सम्म र गौरिगञ्ज गाउँपालिकाको ३ देखि ६ नम्बर वडाहरु समेटिएका छन्।  

एमालेको पकड क्षेत्र मानिएको झापा-५ मा बालेनको चासो किन? यो प्रश्नमा राजनीतिक वृत्तमा चर्चा चुलिएको पाइन्छ। ओलीका कटु आलोचक मानिने बालेन उनलाई हराउने उद्धेश्यले मात्रै झापा झर्लान् त भन्ने टिकाटिप्पणी पनि सुरु भएका छन्। जेनजी आज्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई ओलीलाई पक्राउ गर्न दबाब दिएको र नमानेपछि उनीहरुबीच दुरी बढेको चर्चा पनि उस्तैछ। सामाजिक सञ्जालमा बालेनका स्टाटस र विभिन्न सार्वजनिक कार्यक्रममा ओलीका भाषणले दुईबीचको सम्बन्ध सुमधुर नरहेको बुझ्न अप्ठेरो छैन। के यही तिक्ततापूर्ण सम्बन्धका कारण आगामी चुनावमा उनीहरु एकअर्काका प्रतिस्पर्धी बन्छन् त भन्ने प्रश्न पनि उब्जिएको छ।  

तर, सम्बन्ध जे-जस्तो होस्, ओली र बालेन एकअर्काविरुद्ध चुनाव लड्न तयार देखिएका छन्। वरिष्ठ नेता बालेनले रास्वपाका झापा जिल्ला सभापति प्रकाश पाठक, सचिव शम्भू सुस्केरासहितका प्रतिनिधिसँग आइतबार ललितपुरमा लामै कुराकानी गरे। पछिल्लो समय संगठन विस्तारको चरणमा राम्रै छलाङ मारेको दाबी गर्दै आएको रास्वपाका झापा प्रतिनिधिहरुले पनि बालेनसँगको भेटलाई सकारात्मकरुपमा लिएका छन्। स्वतन्त्र उम्मेदवार बनेर संघीय राजधानी काठमाडौं महानगरको मेयर जितेका व्यक्तिले पूर्वप्रधानमन्त्री, एमालेका केन्दीय अध्यक्ष, पुराना नेताविरुद्ध धावा बोल्नु नै रास्वपा सफलता उन्मुख भएको बुझाई प्रतिनिधिहरुको छ।  

झापा प्रतिनिधिहरुसँगको छलफलमा मेयर बालेनले माघ ६ गते आफूले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने र त्यसका लागि जुलुससहित निर्वाचन कार्यालय पुग्ने गरी तयारी गर्न आग्रहसमेत गरिसकेका छन्। कुराकानीका क्रममा बालेनले झापामा पार्टी संगठन, पुराना पार्टीहरुको अवस्थालगायत विषयमा बुझ्ने काम भइरहेको जानकारी गराउँदै रास्वपा झापाको रणनीति पनि मागेका थिए। यसबाट उनी चुनाव लड्न झापा नै झर्छन् कि भन्ने सम्भावना पनि देखिन्छ। भेटघाटपछि आइतबार राति ९ः४६ बजे बालेनले फेसबुकमा स्टाटस लेखे, 'शुभकामना सबैलाई!!, हामी आउँदै छौं!!'  

जिल्ला सभापति प्रकाश पाठकले झापाको क्षेत्र नम्बर ५ मा पर्ने अधिकांश स्थानीय तहमा रास्वपाको संगठन बलियो बनेको दाबी गर्दै बालेनको उपस्थितिले कोहबरा, गौरीगञ्ज लगायत दक्षिणी क्षेत्र पनि रास्वपाको पकडमा आउने विश्वास व्यक्त गरे। ती क्षेत्रमा आदीवासीहरुको बसोबास बाक्लो छ। बालेनमात्र नभइ रास्वपाका जो-कोही उम्मेदवार बनेपनि क्षेत्र नम्बर ५ बाट विजयी हुने विश्वास व्यक्त गर्दै पाठकले ओलीलाई देशले नै तिरस्कृत गरेकाले फेरि मतदाताले मत नदिने दाबी गरे।  

एमाले अध्यक्ष अ‍ोलीको गृहनगर दमक नगरपालिकाका युवाहरु बोलेनको भनाइमा उत्साहित भएको बताउँदै पाठकले नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाको संगठन पनि राम्रो भएकाले रास्वपाको अवस्था नगरभित्र बलियो हुने दाबी गरे। उनले भने, 'कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकामा हामी एकलौटी भोट ल्याउँछौं। रह्यो दमक नगरपालिकाको कुरा, यहाँका युवाहरु हामीप्रति आकर्षित छन्। अन्य दलहरुको संगठन पनि राम्रै भएकाले मतका आधारमा रास्वपा बलियो छ। समग्रमा झापा क्षेत्र नम्बर ५ बाट बालेनको जित सुनिश्चित छ।  

जिल्ला सभापति पाठकले बालेनले आफ्नो उम्मेदवारीबारे केही दिनभित्र सामाजिक सञ्जालमार्फत् घोषणा गर्ने बताएको जानकारी दिँदै बालेनको उम्मेदवारीबारे भने पार्टीले निर्णय गर्ने बताए।  

एमाले झापाले पनि क्षेत्र नम्बर ५ मा आफ्ना अध्यक्षको जित सुनिश्चित नै ठानेको छ। चुनाव लड्नै आए बालेन आगन्तुक उम्मेदवार हुने बताउँदै एमाले झापाले प्रतिस्पर्धा गर्ने जो पनि स्वतन्त्र हुने भएकाले क्षेत्र नम्बर ५ बाट एमाले नभाग्ने जिकिर गरेको छ।  

एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले झापा क्षेत्र नम्बर ५ मा संगठन, कर्म र मतदाताप्रति पार्टी विश्वस्त रहेको बताउँदै उक्त क्षेत्रमा अध्यक्ष ओली निर्विकल्प रहेको बताए। गत निर्वाचनमा सबै दल एकातिर भएर पनि अध्यक्ष ओलीलाई हराउन नसकेको दृष्टान्त प्रस्तुत गर्दै गिरीले हरेक पटक झै यो चुनावमा पनि जितका लागि पार्टीले कसरत गर्ने बताए। अध्यक्ष गिरीले भने, 'हाम्रा अध्यक्ष अभिभावक हो । मतदाताले कस्ले के काम गरेका छन् भनेर हेर्छन्। झापा क्षेत्र नम्बर ५ मा मात्रै हैन समग्र देशको समृद्धिका लागि अध्यक्ष ज्यूले गर्नुभएको योगदानलाई आगन्तुक उम्मेदवारसँग हाम्रा मतदाताले साट्नु हुन्न भन्नेमा हामी विश्वस्त छौं।' उनले झापाका सबै पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीको संगठन बलियो रहेकाले कसैसँग गठबन्धन नगरी एमाले चुनावमा जाने स्पष्ट पारे।  

एमाले र रास्वपाले आ-आफ्नै दाबी गरेपनि पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले झापाबाट उम्मेदवारी दिने बालेनको चर्चा द्वन्द्व निम्त्याउने कुरामात्रै भएको बताएका छन्। नेपाली नागरिकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमध्ये एक ठाउँबाट उम्मेदवारी दिन सक्ने बताउँदै उनले निर्वाचन विधि, सिद्धान्त र संवेदनशील भएर हुने भएकाले आवेगमा नआउन दुवैपक्षलाई आग्रह गरे। लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गएर कुनै उम्मेदवारलाई अप्ठेरो बनाउने र लान्छना लगाएको पाइए उम्मेदवारी नै खारेज गर्ने अधिकार निर्वाचन आयोगलाई हुने भएकाले गम्भीर बन्न उनको सुझाव थियो।  

माघको पहिलो साता काठमाडौंको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रने योजनामा बालेन छन्। सुदूरपश्चिमबाट प्रचारप्रसारको क्रम सुरु गर्ने तयारी उनको छ।  

बालेनको सचिवालयका एक पदाधिकारीले उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिँदै सम्भावना भएका क्षेत्रमा सामान्य सर्वेक्षण भइरहेको बताए। थप छलफल र कुराकानीपछि निर्णयमा पुग्ने उनको भनाइ छ।  

अन्त्यमा, महोत्तरीका मेयर बालेन अहिले काठमाडौंको सिनामंगल बस्छन्, उक्त ठाउँ काठमाडौं क्षेत्र नम्बर २ मा पर्छ। यो क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्ने चर्चा पनि बालेनको छ। आफ्नै गृहजिल्ला महोत्तरीमा रास्वपाको संगठन बलियो भएको निर्वाचन क्षेत्रबाटै उम्मेदवार बन्ने गाईंगुईं पनि उत्तिकै छ। उनको उम्मेदवारीबारे चर्चामा तीन वटा निर्वाचन क्षेत्र देखिए पनि एउटामा मात्र उनले उम्मेदवारी दिनेछन्, बाँकी भने मिडिया स्टन्टबाजीमात्र हुनेछ।  

प्रकाशित: २८ पुस २०८२ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App