स्वास्थ्य उपचारका लागि भनेर आज (सोमबार) बिहान ४ बजे प्रदेश प्रमुखको सरकारी निवास मधेस भवन जनकपुरधामबाट काठमाडौंका लागि निस्किएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सिधै महोत्तरीको बर्दिवासस्थित पानस कटेज पुगिन्। त्यहाँ नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराइन्।
जनकपुरधामको मधेस भवनबाट प्रदेश प्रमुख सहजै बाहिरिने वातावरण भने थिएन। कारण, कांग्रेससहित सात दलका नेता कार्यकर्ताको भीडले मधेस भवन घेरिएको थियो। त्यहाँबाट सहज र सुरक्षित रूपमा बाहिरिन उनले तत्कालीन कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल)लाई मधेस भवनमा बोलाइन्। र, भनिन्, ‘मेरो स्वास्थ्यमा समस्या भयो, उपचारका लागि काठमाडौं जानुपर्ने भयो। उपचार गराएर फर्किएपछि संविधानतः सरकार निर्माणका लागि आह्वान गर्छु, ढुक्क हुनुहोस्।’
प्रदेश प्रमुखको आग्रह सोनलले सहजै स्वीकार गरे। र, मधेस भवन वरपरबाट नेता/कार्यकर्तालाई पन्छाएर प्रदेश प्रमुख भण्डारीलाई बाहिरिने बाटो क्लियर गरिदिए। प्रदेश प्रमुखलाई मधेस भवनबाट बिदा गरेर सोनल मधेस भवनको मुख्यमन्त्री निवास पुग्ने बित्तिकै पाएको सूचनाबाट अतालिए। त्यो सूचना थियो– 'उपचारका लागि भनेर हिँडेकी प्रदेश प्रमुख बर्दिवासको कटेजमा एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर सपथ ग्रहण गराइन्।’

यो खबरले रन्थनिँदै सोनलले फेसबुक वालमा स्टाटस लेखे, ‘मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्किेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सीमानाको एउटा होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन। एक त महिला अर्कोे स्वास्थ्यको कुरा गरिन्।’
सोनलको यो स्ट्याटसपछि मधेसको राजनीतिमा तरंग पैदा भयो। बर्दिवासको पानस कटेजमा नेता/कार्यकर्ताको भीड जम्मा हुन थाल्यो। बाक्लो सुरक्षा घेराका कारण कटेजभित्र कोही प्रवेश गर्न पाएनन्। बाहिर प्रदर्शन र नाराबाजी जारी छ।
यता, मधेस भवन जनकपुरधाम अगाडि पनि नाराबाजी र विरोध सुरु भएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(३) बमोजिम मधेस प्रदेशसभाको ठूलो दल नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ।
एमाले प्रमुख सचेतकको विरोध
यो घटनाको एमाले बाहेकका सात दलीय समीकरणले मात्र विरोध गरेको छैन। नेकपा एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले समेत गलत कदम भएको बताएका छन्।
महतोले भने, ‘मैले आइतबार नै दलका नेता सरोजकुमार यादवलाई भेटेर स्पष्ट रूपमा भनेको थिएँ– उपधारा ३ मा जानका लागि दबाब नदिनुस्, गल्ती काम नर्गुस्। उपधारा २ अनुसार नै अगाडि बढ्नुस्,’ प्रमुख सचेतक महतोले भने, ‘तर यिनीहरूले भित्रभित्रै के गरे मलाई थाहा भएन। हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिवास कालापानीको पानस होटेलमा गएर सपथ लिए। यो सही भएन, लगत अभ्यास भयो।’
‘अहिलेसम्म होटलमा मुख्यमन्त्रीको सपथ र नियुक्ति भएको थिएन,’ प्रमुख सचेतक महतोले नागरिकन्युजसँग भने, ‘यो दुर्भाग्यपूर्ण भयो, विवादको विजारोपन भयो।’
'संसदको लगभग सबै प्रमुख दल खिलापमा भएको बेला यो ढंगले भएको मुख्यमन्त्री नियुक्ति अस्वभाविक हो,' उनले थपे।
यसअघि, आइतबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी, लोसपा, नेकपा एस, जनमत र जसपाका नेता तथा सांसदहरूसँग भेटेर केही कानुन विज्ञहरूसँग छलफल गरी मात्रै निर्णय लिने प्रतिबद्धता जनाएकी थिइन्।
राजनीतिक विश्लेषक तुलानारायण साह
कटेजबाट मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेपछि तातेको मधेस राजनीतिले अब कुन रूप लिने हो? यसका लागि पर्खिनै पर्छ।
राजनीतिक विश्लेषक तुलानारायण साह यस घटनापछि आफ्नो फेसबुक वालमा लेख्छन्, 'मधेस प्रदेशमा विगत २ दिनदेखि जेजस्ता राजनैतिक गतिविधिहरू भएका छन्, ती सबै दुर्भाग्यपूर्ण छन्। त्यहाँ रचिएका षड्यन्त्र र खेलिएका खेलहरू केवल जनकपुर वा मधेस प्रदेशमा मात्र सीमित रहने प्रकृतिका छैनन्। ती कार्यहरूले नेपालको लोकतन्त्र, संघीयता, संसदीय प्रणाली एवं सामाजिक सदभावमा गम्भीर एवं दुरगामी प्रभाव पार्ने निश्चित छ।’
उनी अगाडि देख्छन्, ‘शनिबारको प्रदेशसभा बैठकमा दुईजना सांसदबाट गरिएको अस्वाभाविक तर रहस्यपूर्ण हर्कतले नै आइतबारको बर्दिबास नाटकको पृष्ठभूमि तयार पारेको थियो। यी दुवै घटना सुनियोजित रूपमा एकै ठाउँमा एकै दिमागबाट रचिएको प्रष्ट छ। यो समग्र एपिसोड मधेसी राजनीति र मधेसी लगायतका सीमान्तकृत समुदायहरू प्रतिको दुराग्रहपूर्ण सोच राखेर रचिएका राजनीतिक षडयन्त्रहरू हुन्। यसको राजनैतिक प्रतिरोध हुनुपर्छ। कानुनी उपचारको नाममा राजनैतिक प्रतिरोधलाई रोकिए थप दुर्भाग्यपूर्ण समयको सामना गुर्नुपर्ने हुनसक्छ।’
उनी थप्छन्, ‘मधेस प्रदेश प्रमुखले हिजो जसरी षडयन्त्रपूर्ण तरिकाबाट मुख्यमन्त्रीको शपथ गराउनुभएको छ, त्यसको म घोर भर्त्सना गर्दछु। वर्तमान संघीय सरकारलाई उहाँलाई तत्काल बर्खास्त गरी थप षडयन्त्रको तानाबाना बुन्ने कार्य रोकेर मधेसको राजनीतिक वातावरणलाई सहज बनाउने कार्य गर्नुहुन अनुरोध छ।’
प्रकाशित: २४ कार्तिक २०८२ १०:३९ सोमबार





