९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

किन बनेन श्रेष्ठको नियुक्ति पत्र?

खानेपानी संस्थानमा रहेका बेला विवादमा तानिएका इन्जिनियर दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्ति गर्ने विषयमा अवरोध सिर्जना भएको छ। सरकारले कोषको सदस्य सचिवमा विवादित व्यक्तिलाई नियुक्ति गरेको भन्दै मुख्य सचिव एकनारायण अर्यालले पत्र नबनाएपछि त्यस्तो अवस्था आएको हो।

मुख्य सचिव अर्यालले अवकाशमा जाने बेला विवादित व्यक्तिको नियुक्तिका लागि पत्र नबनाउने अडान लिएपछि चार दिनसम्म उनको नियुक्ति रोकिएको छ।

खानेपानी संस्थानमा रहेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। संस्थानमा रहेका बेला अख्तियारमा उजुरी परेको भन्दै कर्मचारीहरूसँग आर्थिक लेनदेन गरेको आरोप लागेपछि श्रेष्ठको जिम्मेवारी खोसिएको अख्तियारका एक कर्मचारीले बताए।

लुम्बिनी विकास कोषमा उनको नियुक्तिपछि प्रधानमन्त्री कार्यालयलाई अख्तियारले समेत व्यक्तिको आचरण ठिक नभएको जनाएपछि तत्काललाई नियुक्तिपत्र बनाउन रोकिएको थियो। गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले खानेपानी संस्थानका इन्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरे पनि विवादित भएका कारण उनको नियुक्ति रोकिएको उच्च सरकारी निकायले जनाएको छ।

शुक्रबार मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएपछि त्यसबारे सरकारी तहमा लामो छलफल भएको थियो।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रशासनिक कार्यसँगै वर्षौंदेखि निर्माणाधीन लुम्बिनी गुरुयोजना पूरा गनुपर्ने चुनौती भइरहेका बेला जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सदस्य सचिव नियुक्त गरेको थियो। लुम्बिनीमा भने स्थानीयले सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गर्दै आइरहेका बेला उनको नियुक्ति भएपछि सरकारी तहमा मात्र होइन, संवैधानिक तहमा समेत उनको विगतबारे छलफल भएको स्रोतको दाबी छ। मुख्य सचिव एकनारायण अर्यालले आफू अवकाशमा जाने बेला मंगलबार साँझसम्म इन्जिनियर श्रेष्ठको नियुक्तिपत्र तयार भएको छैन। ‘उहाँलाई जसले सिफारिस गरेको हो, त्यही तहले सरकारलाई गलत रिपोर्टिङ गरेको पाइयो। मुख्य सचिव अर्यालले अवकाशमा जाने बेला विवादित व्यक्तिका नाममा नियुक्तिपत्र बनाउँदिनँ भन्नुभयो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने। बुधबारबाट नयाँ मुख्य सचिवले कार्यभार सम्हाल्नेछन्। नवनियुक्त मुख्य सचिव सुमन अर्यालले श्रेष्ठको नियुक्तिलाई के गर्छन् भन्नेबारे केही खुलेको छैन। 

प्रकाशित: १० मंसिर २०८२ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App