२४ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रविले आज संसद्‌मा किन सम्झेनन् जेनजीको योगदान ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज संसद्मा सम्बोधन गरे । उनले सदनमा आफू ठूलो हिम्मत जुटाएर र अत्यन्तै भारी मन लिएर उभिएको बताए । यो सम्बोधनमा उनले धेरै विषय समावेश गर्ने अपेक्षासहित सम्बोधन सुन्ने संसद्‌बाहिरको तप्का पनि थियो । तर उनलाई आज यो स्थानमा पुर्‍याउने जेनजीको भूमिका र योगदान बारे उनले केही बोलेनन् ।  

जुन राजनीतिक परिवर्तनको जगमा उनको पार्टी आजको हैसियतमा पुगेको हो त्यही परिवर्तनका मुख्य संवाहक जेनजी पुस्ताको योगदान संसद्को सम्बोधनमा अनुपस्थित भयो । भलै हिजो भदौ २३ मा सरकारले जेनजी दिवसको अवसरमा सार्वजनिक बिदा नै दियो । तर आज सत्तारुढ दलका सभापतिले जेनजी योगदानको विषयमा कुनै उच्चारण नै गरेनन् । गत वर्ष सम्झँदा आजकै दिन देश जलेको दिन हो । यो दिन देश खरानी भएको दिन हो । सिंहदरबार जलेको दिन हो । तर त्यही सिंहदरबार पुग्दा उनले यसको पुनर्निर्माणको विषय किन सम्झेनन् ।  

जेनजीको भूमिका राजनीतिक स्मृति, नैतिक दायित्व र प्रतिनिधित्वको प्रश्न पनि हो र सभापतिले उठाउनुपर्थ्यो भन्ने तप्का पनि थिए ।

आजको सम्बोधनमा लामिछानेले जलवायु संकटदेखि विपद्को पीडा, उद्धार तथा राहत, राज्यका संस्थाको क्षमता, अन्तर्राष्ट्रिय जलवायु न्याय र नेपालको कूटनीतिक भूमिकासम्म विस्तृत धारणा राखे। उनले विपद्मा परेका नागरिकको पीडालाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र नहेरी ‘जलवायु अन्याय’सँग जोड्नुपर्ने बताए।

उनले सरकारलाई जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय तहमा बलियो कूटनीति सञ्चालन गर्न, वैज्ञानिक अध्ययन गराउन र क्षति तथा हानिको औपचारिक दाबी तयार गर्न आग्रह गरे।  

तर यति लामो राजनीतिक सम्बोधनमा जेनजी आन्दोलन, त्यसको योगदान, त्यसले सिर्जना गरेको राजनीतिक वातावरण र त्यस पुस्ताको अपेक्षाबारे कुनै कुरा उठाएनन् ।

जेनजी बारेको मौनता किन जेनजीकै जगमा पहिलो बनेको दलबाट भयो भन्ने राजनीतिक प्रश्न पनि उठेको छ ।  

पार्टी पहिलो भयो, तर जगको कुरा किन भएन ?

रास्वपा आज पहिलो पार्टी बन्न पुग्नुको राजनीतिक पृष्ठभूमिमा जेनजी पुस्ताको आन्दोलन निर्णायक थियो भन्ने बुझाइ स्थापित छ। त्यसैले स्वाभाविक अपेक्षा थियो, लामिछाने संसद्मा उभिँदा उनले आफ्नो राजनीतिक यात्रालाई सम्भव बनाउने त्यो पुस्तालाई सम्झनेछन्, आन्दोलनका योगदानकर्तालाई सम्मान गर्नेछन् र उनीहरूले उठाएका प्रश्नलाई आगामी राजनीतिक एजेन्डासँग जोड्नेछन्।

तर आजको सम्बोधनले त्यो अपेक्षा पूरा गरेन।

बरु सम्बोधनको केन्द्रमा विपद् र जलवायु न्याय आयो। यो आफैंमा महत्वपूर्ण विषय हो। नेपालले पीडा भोगिरहेको विषय पनि हो । तर राजनीतिक रूपमा आफूलाई नयाँ पुस्ताको प्रतिनिधि दाबी गर्ने पार्टीको नेतृत्वले नयाँ पुस्ताले गरेको राजनीतिक हस्तक्षेपलाई सम्बोधन नगर्नु भने आफैंमा एउटा सन्देश हो।

आजको सम्बोधनमा पनि रास्वपा सभापतिले जेनजीले उठाएका भ्रष्टाचार, सुशासन, जवाफदेहिता, राजनीतिक पुस्तान्तरण र राज्य सुधारका प्रश्नलाई आफ्नो राजनीतिक कार्यसूचीसँग जोड्न सक्नुपर्ने आजाव उठाउन थालेका छन् ।  

जेनजीहरूले यो परिवर्तन केवल सत्ता परिवर्तन नभई आफूहरूले उठाएका भ्रष्टाचार, सुशासन, जवाफदेहिता, राजनीतिक पुस्तान्तरण र राज्य सुधारका सवाल राज्यले सम्बोधन गर्नै पर्ने बताएका छन् ।  

जेनजीले सरकार वा पार्टी बदल्ने मागमात्र गरेका थिएनन् । राजनीतिक संस्कार बदल्ने दबाब पनि सिर्जना गरेका थिए।

जेनजीको अपेक्षा थियो राज्य नागरिकप्रति जवाफदेही होस्, नेताहरू प्रश्नभन्दा माथि नहुन्, राजनीतिक दलहरू पारदर्शी बनून् र नयाँ पुस्ताले आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार पाओस्।

रास्वपाको उदयसँग यी अपेक्षाहरू जोडिएका छन्। त्यसैले रास्वपा पहिलो पार्टी बन्नु केवल चुनावी अंकगणितको परिणाम मात्र होइन, पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टिको राजनीतिक अभिव्यक्तिसँग पनि जोडिएको छ।

यही कारणले रास्वपामाथि जिम्मेवारी पनि अरूभन्दा बढी छ।

जसको नाममा नयाँ राजनीतिको दाबी गरिएको छ, उसैलाई सत्ता र संसद्को यात्रामा बिर्सन मिल्छ कि मिल्दैन?

लामिछानेले आफ्नो सम्बोधनमा संस्थागत क्षमताको विकास र विगतका विपद्बाट प्राप्त सिकाइलाई सुरक्षित राख्नुपर्ने बताएका छन्। उनले सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत संस्थालाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

यदि विगतका अनुभवबाट सिकाइ सुरक्षित राख्नुपर्छ भन्ने उनको तर्क सही हो भने, राजनीतिक आन्दोलनका अनुभव पनि त्यसैगरी सुरक्षित राख्नुपर्दैन र?

जेनजी आन्दोलनले नेपाली राजनीतिलाई के सिकायो?

पुराना दल र संस्थामाथि नागरिक असन्तुष्टि किन यति गहिरियो?

युवाले सडकमा आउनुपर्ने परिस्थिति कसरी बन्यो?

त्यो आन्दोलनले राज्य र राजनीतिक दललाई के सन्देश दियो?

र अब संसद्मा पुगेका दलहरूले ती मागलाई कसरी संस्थागत गर्ने?

यी प्रश्नको जवाफ खोज्नु पनि राजनीतिक ‘सिकाइ’लाई संस्थागत गर्नु नै हो।

जेनजी आन्दोलनमा होमिएका र घाइते, अंगभंग भएकाले वर्तमान सरकारसँग राखेको अपेक्षा पूरा नभएको भन्दै विरोधका आवाज सुनिन थालेका बेला सरकारको नेतृत्वकर्ता दलकै सभापति मौन बस्दा अनेकन प्रश्न उठाएको छ ।  

लामिछानेको सम्बोधनमा जेनजीको चर्चा नहुनुको कारण उनी स्वयंले स्पष्ट नगरेसम्म निष्कर्ष निकाल्नु हतार हुनेछ। यो केवल भाषणको समयसीमा, विषयको प्राथमिकता वा तत्कालीन विपद्को संवेदनशीलताका कारण पनि हुन सक्छ।

तर राजनीतिक टिप्पणीको दृष्टिले भने प्रश्न उठाउनु जायज छ।

किनभने जेनजीको राजनीतिक योगदानलाई सम्झनु कुनै औपचारिक श्रद्धाञ्जली मात्र होइन । त्यो जेनजीको योगदानले रास्वपा पहिलो पार्टी बन्नु मात्र अन्तिम गन्तव्य होइन। त्यो जेनजीले पुरानो राजनीतिक संरचनामाथि गरेको प्रश्नको उत्तर दिने जिम्मेवारीको सुरुवात हो।

त्यसैले अब रास्वपाले जेनजीलाई केवल चुनावी परिवर्तनको पृष्ठभूमिका रूपमा सम्झने कि त्यस पुस्ताको राजनीतिक एजेन्डालाई शासनको मूलधारमा ल्याउने भन्ने निर्णय गर्नुपर्नेछ।

आज संसद्मा रवि लामिछानेले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय कूटनीति मागे। राज्यका संस्थालाई बलियो बनाउन आग्रह गरे। पुनर्निर्माणलाई ऋणको बोझमा नथोपर्न चेतावनी दिए। यी विषय महत्वपूर्ण छन्।

तर संसद्मा एउटा अर्को न्यायको प्रश्न पनि उठ्नुपर्ने थियो, जेनजीले दिएको राजनीतिक चेतनाको न्याय कसले गर्ने?

जेनजी आन्दोलनको जगमा पहिलो बनेको पार्टीका सभापतिले संसद्मा त्यसै पुस्ताको योगदान सम्झिएनन् भने भोलि इतिहासले एउटा असहज प्रश्न अवश्य गर्नेछ, ‘जसको असन्तुष्टिले तिमीलाई संसद्को सबैभन्दा ठूलो दल बनायो, संसद्मा पुगेपछि तिमीले उसैलाई किन सम्झिएनौ?’

जेनजी अगुवा र जेनजीको योगदान वर्तमान सरकारले नबिर्सियोस् भन्न खबरदारी गर्नले यही प्रश्नलाई रविको सम्बोधनभन्दा महत्वपूर्ण बनाएका छन् । 

प्रकाशित: २४ भाद्र २०८३ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App