२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रदर्शनकारीको घेरामा पत्नी र पुत्रलाई छाडेर घरबाट किन निस्किए जेएन ?

रविलक्ष्मीलाई जिउँदै जलाउने दुश्कर्मको सुक्ष्म अनुसन्धान हुनुपर्छः खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको यो बेला गम्भीर अवस्थामा भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ।

जेन-जी आन्दोलनका क्रममा घरभित्रै रहेका समय प्रदर्शनकारीले लगाएको आगोले उनका दुवै हात जलेका थिए भने फोक्सो र श्वास नलीमा गम्भीर संक्रमण देखिएको थियो।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा संक्रमण फैलदैँ गएपछि बायाँ हात काटेर फालिएको थियो। निमोनिया पनि देखिएपछि स्वास्थ्य गम्भीर बन्दै गएकाले उनलाई थप उपचारका लागि नयाँदिल्ली लगिएको हो।

उपचारमासँगै रहेका पूर्वप्रधानमन्त्री खनालले पत्नीको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिए पनि थप नबिग्रिएकाले आशावादी रहेको बताएका छन्। अपोलो अस्पतालका चिकित्सकहरुले पछिल्लो समय चित्रकारमा सेप्सिस (संक्रमणले शरीरका अंग, तन्तु, कोष क्षति पुर्‍याउनु) देखिएकाले त्यसको उपचार पहिलो प्राथमिकतामा रहेको बताएको खनालको भनाइ छ। निमोनिया र हातको संक्रमणबारे पनि चिकित्सकले उपचार जारी राखेका छन्।

गत भदौं २३ गते भएको नयाँ बानेश्वर केन्द्रित आन्दोलनबारे खनाल परिवार पूर्ण जानकार थियो। नेकपा (एकीकृत समाजवादी) तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको कटुआलोचक रहेरमात्र पनि हैन, २३ गतेको आन्दोलनमा राज्यपक्षबाट भएको ज्यादती क्षम्य नभएको निष्कर्षमा खनाल परिवार थियो।

यसले पार्नसक्ने प्रभावबारे खनाल, रविलक्ष्मी र खनालका छोरा निर्भिकले डिनरका समय र २४ गते बिहान चियानास्ता गर्दा राम्रैसँग विश्लेषण गरेका पनि हुन्।

२४ गते बिहान सबै पूर्ववत् अवस्थामा थियो। डल्लुमा रहेको उनको घर अगाडिको बाटोमा गाडीहरू दौडिरहेकै थिए। तरकारी बेच्ने, दूध पुर्‍याउने, सरसफाइ गर्नेहरु अघिल्लो दिनमा जस्तै घरघर पुग्दै थिए। साइकलमा तरकारी बोकेर ताजाताजा तरकारी भन्दै कराउँदै थिए।

खनाल निवासमा पनि दिउँसोका लागि चाहिने सबै कुराको जोहो बिहानै भइसकेको थियो। चियानास्तासँगै खानाको प्रवन्ध भइसकेको थियो। पारिवारिक मिलन र कुराकानी उस्तै थियो, जसरी हिजाका दिनमा थिए।

जेन-जी आन्दोलनमा अघिल्लो दिन भएको प्रहरी दमन र २० भन्दाबढी युवाहरुको मृत्युको खबर पूर्वप्रधानमन्त्री खनालले पाइसकेका थिए। २४ गते आन्दोलन थप आक्रामक हुँदैछ भन्ने कुराको सूचना पनि खनालसम्म पुगेको थियो।

भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा सुरु जेन-जी आन्दोलनका क्रममा देशकै धरोहरसहित निजी घरहरु पनि ध्वस्त हुँदैछन् भन्ने कुराको अनुमान त जोकोहीले गर्नै नसक्ने भए। खनाल परिवारमा यस्तै थियो।

मात्र सर्वसाधारणभन्दा अलि फरक, उनलाई उक्त दिनको कालो बादलको संकेत भने सुरक्षा निकायबाट आएको थियो। भनिन्छ, न बिराउनु नडराउनु। खनाल र उनको परिवार पनि डराएन।

खाना खाँदै गर्दा रविलक्ष्मीले भनेकी थिइन्, ‘हामीले कस्को के नै बिगारेको छ र डराउनु ? हुन पनि हो आफ्नो सम्पूर्ण जीवन अध्यापनमा बिताएकी उनले कुनै समय कसैको कुभलो चिताइनन्। चक र डष्टरसँग खेल्दै उनले हजारौं जेनजीलाई उज्ज्व भविष्य दिइन्। सही बाटो देखाइन्। कतिलाई डाक्टर बन्ने आधार देखाइ दिइन्। कति इन्जिनियर बने। भान्साकोठामा बसेर आन्दोलन र पछिल्लो अवस्थाबारे समीक्षा गर्दै गर्दा उनकै विद्यार्थी स्वास्थ्यमन्त्री थिए।

आफ्नै श्रीमान् प्रधानमन्त्री भएका समय विरलैमात्र बालुवाटार छिरेकी उनी अमृत साइन्स क्याम्पसमा पुरानै रहनसहन र लवजमा सधैं अध्यापनका लागि गइरहिन्।

विवाह अघि राजनीतिमा समर्पित उनी विवाहपछि राजनीतिमा श्रीमान् झलनाथ खनाललाई पूर्णसहयोग गर्दै घरव्यवहारमा व्यस्त भइन्। घर चलाउन अध्यापन थालिन्। छोराको उज्ज्वल भविष्यका लागि दिनरात मेहनत गरिन्। तर राजनीतिबाट सधैं टाढा बसेकी प्राध्यापक रविलक्ष्मीलाई जेन-जी आन्दोलनका क्रममा कुनै दिन आफ्नै शरीरमा आगो सल्किन्छ भन्ने कुराको छनकसम्म थिएन।

सिंहदरबारमा आगो सल्किँदा, सर्वोच्च अदालत दनदन बल्दा, शीतल निवास राप र तापले छोपिदा पनि रविलक्ष्मी ढुक्क थिइन्, मेरो बलबुताले जोडेको यो घरमा कसैले आगो झोस्दैन। तर बिडम्बना, जेन-जी आन्दोलनका नाममा अराजक समूहले उनको घरलाई पनि खरानी बनाउने प्रपञ्च रचिसकेको रहेछ। झलनाथ, रविलक्ष्मी र निर्भिक सुरक्षित मानिने घरभित्र ढुक्कको श्वास फेर्दै थिए, बाहिर आगोका लप्काहरु सल्बलाउँदै थिए।

खनाल निवासमा बाहिरबाट बोलाएको हत्तपत्त सुनिन्न थियो। उनको घरको डिजाइन नै त्यस्तै थियो। गेटैमा पूर्वप्रधानमन्त्रीका लागि दिइने पहरा थियो तर आन्दोलनले उग्ररुप लिएपछि सुरक्षाकर्मीहरु पछि हटेका थिए।

आगजनी, तोडफोड र लुटपाटको क्रम तीब्र भएको जानकारी खनाल परिवारले पनि पायो। तरपनि घरमै बस्ने निष्कर्षमा उनीहरु पुगे। नेताहरुको घर जलाउन थालेको र सुरक्षित बस्नु, घरमा नबस्नु भन्ने सूचना खनालको मोबाइलमा पनि आयो। तर पनि उनी डराएनन्। परिवार एकै ठाउँमा भएकाले उनमा आँट थपियो। तेस्रो तलामा रहेको भान्साकोठाबाट बाहिर तोडफोडको आवाजहरु सुनिन थाल्यो। यो आवाज हरेक सेकेन्ड ठुलो हुँदै गयो।

सोही समय सुरक्षाकर्मीको एउटा भ्यान उनको घरको गेटैमा आएर रोकियो। खनालले जानकारी पाए। उनी तेस्रो तलाबाट भुईंतलामा झरे। झर्दै गर्दा देखे युवाहरुको एउटा समूहले उनको छिमेकीको घरमा तोडफोड गर्दैछ। तारबारले बेरिएको पर्खालबाट भित्र छिर्न खोज्दैछ। तोडफोडमा प्रयोग हुने फलामका सामानले हिर्काउँदैछ। उनको मन झस्कियो। कतै यो समूह मेरो घरमा विध्वंश मच्चाउन त आएको हैन। उनी सुरक्षाकर्मीको भ्यान नजिक पुगे।

तीन जना सुरक्षाकर्मीले यो समूह तपाईंको घरमा आगो लगाउन आएको र तपाईंको सुरक्षा अब हाम्रो जिम्मामा रहेको जानकारी दिँदै तत्काल भ्यानमा बस्न अनुरोध गरे। पूर्वप्रधानमन्त्री खनालले घरभित्र श्रीमती रविलक्ष्मी र छोरो निर्भिक पनि रहेको जानकारी सुरक्षाकर्मीलाई गराए। तर सुरक्षाकर्मीले खनाललाई तुरुन्तै सुरक्षित स्थानमा लैजानुपर्ने दायित्व रहेको र फर्केर आएर रविलक्ष्मी र निर्भिकलाई लैजाने बताए।

उनी घरभित्र बस्दा लगाउने कपडा र साथमा रहेको मोबाएल हातमा बोकेर सुरक्षाकर्मीको घेरासहित भ्यानमा चढे। भ्यान हुइँकियो। लगत्तै उनले देखे छिमेकीको घरभित्र छिर्न खोज्ने समूह उनको घरतिर मोडियो। खनालले अनुमान लगाए उनीहरु त मेरो घर भनेर छिमेकीको घर तोडफोड गर्न खोज्दै रहेछन्।

पूर्वप्रधानमन्त्री खनाललाई सुरक्षितस्थानमा राखेर सुरक्षाकर्मीको सोही समूह पुनः डल्लु फर्कियो। करिब दश मिनेटको यो समयमा खनाल निवासमा तोडफोड र लुटपाटपछि आगो सल्किसकेको थियो।

पार्किङमा राखिएको गाडी दनदन बल्न थालेको थियो। भित्र छिर्ने मुल ढोकामा आगो बल्दैथियो। पहिलो, दोस्रो र तेस्रो तलाका झ्यालबाट धुँवा पुत्पुताउन सुरु भएको थियो।

भदौ २४ गतेको आन्दोलनमा सुरक्षाकर्मीले कुनै अवरोध नगरेकाले आन्दोलनकारीहरु निर्वाधरुपमा आगजनीमा संलग्न थिए। ज्यान बचाउन भने सुरक्षाकर्मी सिभिल पोसाकमा उल्लेख्य संख्यामा उपस्थित थिए। खनाल निवास अगाडि पनि छिमेकी र सुरक्षाकर्मीको उपस्थिति बाक्लो थियो।

आगो दनदनी बल्न थालेपछि रविलक्ष्मी र निर्भिकको खोजी सुरु भयो। बाटो वरपर उनीहरु देखिएनन्। कसैले पनि उनीहरुलाई घरबाट बाहिर निस्केको देखेनन्। आमाछोरा घरभित्रै रहेको पूर्वानुमानसहित उद्दारमा छिमेकी र सुरक्षाकर्मी खटिए।

तर समय निकै ढिला भइसकेको थियो। आगो तेस्रो तलासम्म पुगेको थियो। घरभित्र छिर्ने अवस्था थिएन। जति ढिला हुन्छ उति नै अकल्पनीय घटना हुन सक्ने देखेपछि सुरक्षाकर्मीले छिमेकीको घरबाट भित्र छिर्ने विकल्प निकाले। भर्याङको व्यवस्था भयो। छिमेकीको घरको छतबाट खनाल निवासको तेस्रो तलामा भर्याङ लगाएर सुरक्षाकर्मी भित्र छिरे।

आगोको लप्काले उनीहरुलाई छोप्दै थियो। तीनचार जनाको समूह घरभित्र आमाछोराको खोजी गर्दैथियो। निर्भिक झण्डैझण्डै बेहोस भएको अवस्थामा आफ्नै कोठा छेउ भेटिए। धुँवा र आगोको रापसँग पौठेजोरी खेल्दै उनी बाहिर निस्कने प्रयासमा रहेका बेला सुरक्षाकर्मीले भेटे। तत्काल उनलाई भर्याङसम्म पुर्याइयो। बाहिर हावा पाएपछि उनी बौरिए।

सहजै उनको उद्दार भयो। तर रविलक्ष्मीको पत्तो लागेन। सुरक्षाकर्मीले जानसक्ने दोस्रो तलाका केही कोठादेखि छतसम्म छापा मारे तर रविलक्ष्मीलाई भेटेनन्। घरभित्र आगो बढ्दै थियो। दोहोर्याएर खोजे, पाएनन्।

हारखाएर सुरक्षाकर्मीको टोली बाहिर निस्कन लागेको समय भान्साकोठा अगाडि घोप्टो परेको अवस्थामा रविलक्ष्मीलाई देखेँ। उनी पूर्णरुपमा बेहोस थिइन्। शरीरमा आगो लागेको थियो। दुवै हात आगोले जलेका थिए। सुरक्षाकर्मीले कुनै विलम्ब नगरी उनलाई काँधमा राखे र झ्याल भएको ठाउँसम्म पुर्‍याए।

अब यहाँ अर्को महाभारत हुँदै थियो। झ्यालबाट छिमेकीको छतसम्म तेस्र्याको भर्याङ्मा राखेर बेहोस भएकी रविलक्ष्मीलाई कसरी उद्दार गर्ने ? अलिकतिमात्र पनि गल्ती भयो भने उनी तेस्रो तलाबाट भुईतलामा खस्नेछिन्। तर लैजानु त थियो। ढिला गरौं आगोले जलाउछ अनि अवस्था हेर्दा मृत्यु पनि हुन सक्छ। सुरक्षाकर्मीले आँट गरे। काँधमा राखे। रविलक्ष्मीलाई नहल्लिने गरी भरोसा दिए। अनि मुस्किलले यमलोकबाट निकाले। सलाम सुरक्षाकर्मीलाई। हत्तपत्त बाटोमा निकालियो। एम्बुलेन्सको व्यवस्था गरियो। रविलक्ष्मीलाई उपचारका लागि लगियो।

उपचार सहज बनेन। उनको फोक्सो र श्वास नलीमा तातो धुँवाले संक्रमण देखियो। प्राथमिकताका साथ उपचार सुरु भयो। २४ गतेदेखि २९ गतेसम्म अन्य घाउको उपचारमा चिकित्सकले उतिविधि ध्यान दिन पाएनन्। ज्यान बचाउनु पहिलो प्राथमिकता रह्यो। निमोनिया पनि देखिएपछि चिकित्सकहरु थप सजग बने। तर यो बीचमा जलनले बायाँ हातको घाउमा संक्रमण अत्यधिक देखियो। अनेकन उपाय अपनाउदा पनि हात बचाउन सक्ने अवस्था रहेन र फाल्ने निष्कर्षमा चिकित्सक पुगे।

यो निर्णयमा सहमति जनाउन पूर्वप्रधानमन्त्री खनाललाई पक्कैपनि सहज थिएन। जेनजी आन्दोलनले आफ्नी श्रीमतीले अबको जीवन अपाङ्ता भएर बाच्नु पर्ने अवस्थाको कल्पनाले पनि जेनएन खनालको मन भक्कानियो। तर पनि जीवन पहिलो रोजाइमा पर्यो र काम्दै गरेका हातले श्रीमतीको वायाँ हात काट्ने चिकित्सकको कागजमा स्वीकृति जनाए। रविलक्ष्मीको हात फालियो।

आफ्नो घर जलाएका समयको भिडियो, तस्बिरहरु छिमेकी र शुभचिन्तकका मोबाइलमा पूर्वप्रधानमन्त्री खनालले प्रशस्तै हेरेका छन्। कतिपय भिडियो र तस्बिरहरु उनको र निर्भिकको मोबाइलसम्म आइपुगेका छन्। ती सबैमा नजर पुर्‍याउँदा उनको घरमा आगो लगाउने, तोडफोड गर्ने र लुटपाट मच्चाउने कोही पनि जेनजी हुन भन्ने पटक्कै लागेको छैन।

जिउँदै जलाउन खोज्ने जेन-जी हुनै नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री खनालले आफ्नो घरमा आगजनी, तोडफोड र लुटपाट गर्न आएका फरक अनुहार, रहनसहन र लवजमा देखिएका उनीहरु सबैको खोजी राज्यले गर्नुपर्ने माग गरेका छन्।

यो बेला खनाल परिवार नयाँदिल्लीमा छ। एपोलो अस्पतालको आईसीयु बाहिर बसेर रविलक्ष्मीको जीवनको कामना गरिरहेको छ। वाट्सएपमा गफगर्दै गर्दा निकै भावुक सुनिएका सम्मानित नेता खनालले धर्मपत्नी रविलक्ष्मीको अवस्था सहज नभएको बताएका छन्।

शरीरका अंगहरु संक्रमणका कारण दैनिक खराब हुँदै गएको संकेत गरेका छन्। निमोनियाको उपचार भइरहेको छ। फोक्सो र श्वास नलीमा देखिएको संक्रमण पूर्णरुपमा हटाउन चिकित्सकले प्रयास गरिरहेको जानकारी दिएका छन्।

जेन-जी आन्दोलनका नाममा गरिएको यो घटना एउटा उदाहरणमात्र हो। सिंहदरबार, विभिन्न मन्त्रालयहरु, शीतल निवास, सर्वोच्च अदालतसहित देशभर भएको आगजनी, निजी घरमा भएको लुटपाट, तोडफोड र आगजनी, व्यवसायिक भवनमा भएको आगजनी र लुटपाट सबैको निष्पक्ष छानबिन आवश्यक छ।

पूर्वप्रधानमन्त्री खनालले देशैभर एकसाथ, एकै प्रकृतिले भएको यो लुटपाट, तोडफोड र आगजनीको डिजाइनर पत्ता लगाएर देशलाई बचाउन आवश्यक रहेको बताएका छन्। जेनजी युवाहरुको समूहले चुनेको सरकारले यस्को गहिराई पत्ता लगाउन आवश्यक छ र गर्नुपनि पर्छ।  

(पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँगको कुराकानीमा आधारित)

प्रकाशित: ८ आश्विन २०८२ १६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App