२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

देउवालाई किन आयो ज्ञानेन्द्र शाहको झल्को ?

करिब पाँच महिनाको विदेश बसाइपछि नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किए।  

स्वास्थ्य उपचारका लागि विदेश गएका देउवा नेपाल फर्किँदा विमानस्थलदेखि पार्टीको आन्तरिक राजनीतिसम्म देखिएको माहोलले उनको राजनीतिक सक्रियता अझै सकिएको छैन भन्ने सन्देश दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि देउवा सोझै आफ्नो निवास चुनदेवी पुगे। त्यहाँ उनलाई ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरे। कांग्रेसको संस्थापनइतर समूहले विमानस्थलमै बाजागाजा र सांस्कृतिक झाँकीसहित उनको स्वागतको तयारी गरेको थियो। विमानस्थलबाट चुनदेवी पुगेका देउवालाई नेता–कार्यकर्ताले पार्टीको ‘सभापति’कै हैसियतमा प्रस्तुत गरे।

यतिसम्म कि, देउवाको स्वागतका लागि चुनदेवीस्थित संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड र नेमप्लेट राखियो। उनको छुट्टै कार्यकक्षसमेत तयार पारियो। शुक्रबारदेखि सुरु हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा देउवालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गराउने तयारी पनि गरिएको छ।

तर कांग्रेसको औपचारिक राजनीतिक चित्र भने फरक छ। गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएका छन् र निर्वाचन आयोग तथा अदालतको प्रक्रियामा थापाको नेतृत्वले कानुनी मान्यता पाएको छ।  

यद्यपि थापाको नेतृत्वविरुद्ध परेको पुनरावेदनमा सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएपछि कांग्रेसभित्र नेतृत्वको वैधानिकता र राजनीतिक स्वामित्वको विवादले नयाँ मोड लिएको छ।

यही पृष्ठभूमिमा देउवाको स्वदेश फिर्तीलाई केवल स्वास्थ्य उपचारपछि भएको सामान्य घरफिर्तीका रूपमा बुझ्न कठिन देखिन्छ।

देउवा आफैंले पनि आफ्नो फिर्तीलाई राजनीतिक सन्देशसँग जोड्ने प्रयास गरेका छन्। चुनदेवीस्थित निवासमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध भइरहेको घेराबन्दी, उजुरी र कानुनी छानबिनबाट आफू विचलित नहुने स्पष्ट संकेत दिए।

त्यसक्रममा देउवाले भनेको एउटा वाक्यले भने उनको स्वदेश फिर्तीको राजनीतिक अर्थलाई झनै गहिरो बनाइदिएको छ, ‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ ?’

देउवाको यो अभिव्यक्ति अहिलेको राजनीतिक बहसमा सामान्य प्रतिरक्षात्मक भनाइभन्दा बढी अर्थपूर्ण देखिन्छ। राजतन्त्रको प्रत्यक्ष शासनकालमा तत्कालीन राजा ज्ञानेन्द्रसँग राजनीतिक टकरावमा रहेका देउवाले आफूलाई त्यसबेला पनि राजनीतिक दबाबबाट नझुकेको नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। अहिले आफूविरुद्ध उठिरहेका कानुनी तथा राजनीतिक प्रश्नलाई पनि उनले त्यही आत्मविश्वासका साथ सामना गर्ने सन्देश दिएका छन्।

उनले आफूले ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचार नगरेको दाबी गर्दै पटक–पटक छानबिन भए पनि आफूलाई डर नभएको बताए। ‘अदालतमा १० पटक, २० पटकसम्म छानबिन भयो तर केही भेटिएन,’ भन्दै देउवाले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँसमेत तलमाथि नगरेको दाबी गरे।

देउवाको अर्को सन्देश भने लोकतन्त्र र गणतन्त्रको बचाउमा केन्द्रित थियो। उनले गणतन्त्र कुनै व्यक्तिको इच्छाले नभई जनताले चुनेको संविधानसभाले स्थापना गरेको भन्दै यसलाई कसैले उल्ट्याउन नसक्ने बताए। ‘नेपालका जनता नै यो देशका असली मालिक हुन्’ भन्दै उनले आफूविरुद्ध लाग्नेहरूलाई समयले जवाफ दिने दाबी गरे।

तर देउवाको सम्बोधनको अर्को पाटो भने तुलनात्मक रूपमा समन्वयकारी थियो। उनले सत्ता राजनीतिमा प्रतिशोध छोडेर राष्ट्रिय सहमति, एकता र रूपान्तरणको बाटोमा अघि बढ्न सबै दल तथा नागरिकलाई आग्रह गरे।

देशवासीका नाममा गरिएको अपीलमा उनले जेन–जी आन्दोलनलाई पनि गम्भीरतापूर्वक सम्बोधन गरे। युवा पुस्ताको माग जायज रहेको स्वीकार गर्दै उनले कांग्रेसले आफ्नो कमजोरीसमेत स्वीकार गरेर नयाँ पुस्तासँग सहकार्य गर्नुपर्ने बताए। तर विगतका लोकतान्त्रिक संघर्ष र उपलब्धिलाई नकारात्मक ढंगले मात्र व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो।

यसरी हेर्दा देउवाको फिर्ती सन्देशमा दुईवटा फरक स्वर सुनिन्छन्। एउटा स्वर आफ्नो राजनीतिक अस्तित्व र नेतृत्वमाथि चुनौती दिनेहरूलाई दिइएको कडा जवाफ हो भने अर्को स्वर राष्ट्रिय सहमति, मेलमिलाप र पुस्तान्तरणको आह्वान हो।

उनले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको सन्देशसहित स्वदेश फर्किएको प्रसंगसमेत स्मरण गरे। झन्डै पाँच दशकपछि फेरि त्यस्तै बृहत् राष्ट्रिय एकता र सर्वपक्षीय सहकार्य आवश्यक रहेको उनको तर्क थियो।

तर यही तुलना देउवाका लागि राजनीतिक प्रश्न पनि बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले देउवाको स्वदेश फिर्तीलाई बीपीको २०३३ सालको फिर्तीसँग तुलना गर्दै प्रश्न उठाएका छन्, देउवा कुन उद्देश्य लिएर फर्किए ?

श्रेष्ठका अनुसार बीपीको स्वदेश फिर्ती स्पष्ट राष्ट्रिय मेलमिलापको राजनीतिक सन्देशसँग जोडिएको थियो। देउवाको फिर्ती भने कांग्रेसको आन्तरिक विवादमा मात्र सीमित हुने हो भने त्यसको राष्ट्रिय अर्थ कमजोर हुने उनको टिप्पणी छ। उनले देउवाले ‘सफल राजनेता बन्ने कि असफल गुटनेता’ भन्ने छनोट गर्नुपर्ने संकेतसमेत गरेका छन्।

यता कांग्रेस सभापति गगन थापाले भने देउवाको स्वदेश फिर्तीको स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकको सुरुवातमै थापाले देउवालाई नेपालमा स्वागत गरेका हुन्। औपचारिक रूपमा नेतृत्वको दूरी देखिए पनि थापाको यो अभिव्यक्तिले व्यक्तिगत सम्बन्ध र पार्टीगत प्रतिस्पर्धाबीचको फरकसमेत देखाएको छ।

तर कांग्रेसभित्रको अर्को दृश्यले भने विवादलाई थप स्पष्ट पार्छ। नेता डा. शशांक कोइरालाले विमानस्थलमै पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसको सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरे। संस्थापनइतर समूहले देउवालाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गरिरहेको छ। अर्थात्, अदालत र निर्वाचन आयोगको प्रक्रियाबाट एउटा नेतृत्व स्थापित भएको अवस्थामा कांग्रेसको एउटा प्रभावशाली समूहले अर्को नेतृत्वलाई राजनीतिक रूपमा पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ।

देउवाको स्वागतमा देखिएको उत्साह र ‘सभापति’का रूपमा गरिएको पुनर्प्रस्तुति त्यसैको संकेत हो।

यसैबीच, देउवाले सम्बोधनका क्रममा आफूले व्यक्तिगत राजनीतिक महत्वाकांक्षा नराखेको र आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताए। यो भनाइले उनी फेरि सक्रिय कार्यकारी नेतृत्व लिन खोजिरहेका छन् कि पार्टीभित्र आफ्नो प्रभाव र राजनीतिक विरासत जोगाउन खोजिरहेका छन् भन्ने प्रश्न भने खुलै छोडेको छ।

यहीँनेर देउवालाई आएको ‘ज्ञानेन्द्र शाहको झल्को’ अर्थपूर्ण हुन्छ। ज्ञानेन्द्रको नाम उच्चारण गर्दै देउवाले आफूलाई राजनीतिक दबाब र घेराबन्दीबाट नडराउने नेताका रूपमा पुनः प्रस्तुत गरेका छन्। राजासँगको विगतको संघर्षलाई वर्तमानका चुनौतीसँग जोडेर उनले आफ्नो राजनीतिक आत्मविश्वास देखाएका छन्। तर त्यससँगै उनको फिर्तीको दृश्यमा देखिएको शक्ति प्रदर्शनले उनी कांग्रेसको आन्तरिक राजनीतिबाट पूर्णतः अलग हुने अवस्थामा नरहेको पनि संकेत गरेको छ।

देउवा अब कुन भूमिकामा रहनेछन् भन्ने प्रश्नको उत्तर भने तत्काल स्पष्ट छैन। एकातिर उनी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउँछन्, अर्कोतिर आफ्नै पक्षका नेता–कार्यकर्ताले उनलाई ‘सभापति’का रूपमा पुनः प्रस्तुत गरिरहेका छन्। एकातिर राष्ट्रिय मेलमिलापको आह्वान छ, अर्कोतिर कांग्रेसभित्रको नेतृत्व विवादमा आफ्नो पक्षलाई बलियो बनाउने अभ्यास पनि देखिन्छ।

त्यसैले देउवाको यो स्वदेश फिर्तीलाई केवल उपचारपछि भएको राजनीतिक नेताको घरफिर्ती मान्ने कि कांग्रेसको शक्ति समीकरण पुनः परिभाषित गर्ने सुरुवातका रूपमा हेर्ने भन्ने प्रश्न अब कांग्रेसकै अगाडि छ।

अहिलेका लागि भने देउवाले घेराबन्दी, छानबिन वा राजनीतिक चुनौतीले आफूलाई पछि हटाउन नसक्ने दाबी गरेका छन् । त्यो दाबीलाई बलियो बनाउन उनले आफ्नै विगतको एउटा शक्तिशाली राजनीतिक पात्र राजा ज्ञानेन्द्रको नाम लिए ।

देउवाको यो आत्मविश्वास राष्ट्रिय राजनीतिमा नयाँ अध्याय बन्ने हो कि कांग्रेसको आन्तरिक शक्ति संघर्षमै सीमित हुने हो उनको आगामी कदमले पुष्टी गर्नेछ ।

प्रकाशित: २८ श्रावण २०८३ १८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App