३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

संसदमा जसको प्रवेश भए पनि आफैं प्रवेश भए जस्तो लाग्छ: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्व आफ्नो दलको निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले हालको संसदीय संरचना क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको बताए।

उनले भने, ‘परिणामका दृष्टिले दलहरू सानो वा ठूलो हुनु भिन्न कुरा हो। तर संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारुसहित उपेक्षित र उत्पीडित समुदायको जुन इन्द्रधनुषी प्रतिनिधित्व छ, यो मेरो पार्टीको विजयभन्दा कयौं गुणा महत्वपूर्ण छ र भविष्यमा पनि रहनेछ।’

आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको अर्थपूर्ण उपस्थिति हुनु नै लोकतन्त्रको वास्तविक सफलता भएको उनको जिकिर थियो।

क्रान्तिको राप र तापबाट आएको परिवर्तनबारे चर्चा गर्दै उनले सुनाए, ‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। क्रान्तिले लेखिएको छ। पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले यो सम्भव भएको हो।’

उनले भावुक हुँदै भने, ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जुनसुकै दलबाट जसको प्रवेश भए पनि मलाई म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ प्रवेश गरेर मन्त्री बन्ने अवसर कहाँबाट प्राप्त हुन्थ्यो ?’

पार्टीगत आस्था जे–जस्तो भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको दाहालले उल्लेख गरे। क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गर्दै उनले वर्तमान उपलब्धिको श्रेय जनयुद्ध र जनआन्दोलनका शहीद तथा घाइतेहरूलाई जाने बताए।

प्रकाशित: २९ वैशाख २०८३ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App