६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

‘अरब स्प्रिङ’ सम्झाउँदै सचेतक धिताल : टेम्पोमाथि चलेको बुल्डोजरको आवाज इतिहासमा धेरै टाढासम्म सुनिन्छ

कैलालीको गोदावरी नगरपालिका-४ मा आइतबार भएको टेम्पो प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले राज्यको क्रूरताको अनुहारको रूपमा चित्रण गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले यसले कानुनी प्रक्रिया र नागरिकको जीविकोपार्जनमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छिन्।धितालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कैलालीको गोदावरी नगरपालिका-४ मा आइतबार जे भयो, त्यो राज्यको क्रूरताको अनुहार हो जसको दर्पणमा आफ्नो अनुहार हेर्ने साहस हामी सबैले गर्नुपर्छ।’ धितालका अनुसार कथित मूलधारे व्यवस्थाले कोरेको योजनामा सर्वसाधारणको पदचाप नांगो खुट्टाको जस्तो छ, जसको 'ब्लू प्रिन्ट'मा राज्य बुट बजार्दै नाचिरहेको छ।

उनले आफ्नो १३ वर्षको उमेरको एउटा अन्तर्राष्ट्रिय घटना स्मरण गरेकी छन्। 

धिताल लेख्छिन्, ‘म १३ वर्षको छँदा, पृथ्वीको अर्को कुना ट्युनिसियाको सिदी बुजिद सहरका फलफूल बेच्ने २६ वर्षीय मोहम्मद बुआजिजीलाई फाइदा हाम्दी नामकी नगरपालिका कर्मचारीले सामान खोसेर, सार्वजनिक रूपमा थप्पड हानिन्! बुआजिजीले गभर्नरको कार्यालयमा गुहार माग्न गए, सहरका महंगा ढोका प्रायगरिब 'कसिंगर'का लागि खुल्दैन! बुआजिजीले कार्यालयकै सामु पेट्रोल खनाएर आफूलाई आगो लगाए! त्यो आगोले अरब स्प्रिङ सल्कायो। त्यसको राप र ताप विश्वका छेउकुना सबैतिर पुग्यो। ट्युनिसियाका राष्ट्रपति बेन अली, जसले २३ वर्ष राज गरेका थिए, सत्ताबाट खसे। एउटा चिनगारीले एउटा सरकार ढाल्यो। आखिर सत्ताको आयु कति कमजोर हुन्छ, त्यो जगजाहेरै छ। ’

नेपालको संविधानले समानता र सम्पत्तिको हक सुनिश्चित गरेको उल्लेख गर्दै कानुनी प्रक्रिया बाहिर गएर कुनै पनि नागरिकको सम्पत्ति नष्ट गर्न र महिलाको जीविका ध्वस्त पार्न नमिल्ने उनको भनाइ रहेको छ।

सचेतक धितालले लेखेकी छन्, ‘दिनहुँ जसो भाइरल भएर, चार कठै बटुलेर, अलप हुने यी संरचनात्मक हिंसाका अनेकन् स्वरूप, अनेकन् चित्र-चरित्रको बाढी थामिनसक्नु हुँदै गएकै छ। सामाजिक सञ्जाल, डिजिटल स्केलेटनमा उभिएको एक रमिते चौतारी बाहेक अरू खास बन्न सकेको छैन। समानताको हक, सम्पत्तिको हक त छँदैछ, कानुनी प्रक्रियाबाहिर कुनै पनि नागरिकको सम्पत्ति नष्ट गर्न सकिँदैन।’

उनी अगाडि लेख्छिन्, ‘यो चोट हामीले सत्तामा बसेर महसुस गर्न सकेनौँ भने लाज लाग्नुपर्छ हामीलाई तर लाजको सिमाना बढेर हद च्यात्तिन थालेको निकै भएन र? अझै हाम्रो समाजको गाता कति च्यातिनु कति फेरिनु पर्ने हो, देश जनताको आँगनमा आइपुग्न? याद राख्नुपर्छ हामीले जब कानुन आफै शक्तिशालीलाई ढाल र कमजोरमाथिको हतियार बन्छ त्यसपछि एउटा टेम्पोमाथि चलेको बुल्डोजरको आवाज इतिहासमा धेरै टाढासम्म सुनिन्छ। चर्को र कर्कश आवाज, जसको जवाफ माग्न सायद अहिलेको समय हामीसँग प्रश्न कम भएका होलान् तर बीउ हामीसँग छ। समय समयको कुरा न हो, एक दिन प्रश्नहरूले सत्ताको कान कसो नचिथोर्लान्?’

कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा सडकछेउबाट टेम्पो भीरमा खसालिएको थियो। सो घटनापछि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे जनाएको छ।

प्रकाशित: १ असार २०८३ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App