३१ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

महँगी नियन्त्रण गर्न सरकार कहाँ चुक्यो : सांसद केसी

प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह केसीले बाढी तथा पहिरोपछि बजारमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै तत्काल बजार अनुगमन गरी महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपत्तिको कठिन घडीमा समेत बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भइरहेको बताए। सरकारले बजार अनुगमन नगर्दा त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको उनको भनाइ छ। 

उनले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको र अझै खोज तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्दै विपत्तिको नाममा कालोबजारी र मूल्यवृद्धि गर्ने प्रवृत्ति रोक्न सरकार गम्भीर हुनुपर्ने बताए। 

‘राष्ट्रिय शोक र विपत्तिको कठिन घडीमा सम्पूर्ण एकता देखाउँदै पीडितहरूको उद्धार र पुनःस्थापनामा सहयोग गर्नुपर्ने समयमा यो त्रासदीको आडमा आम जनताको भान्सासम्म असर पर्ने गरी निर्लज्ज र अस्वाभाविक मूल्यवृद्धि भइरहेको छ,’ उनले भने। 

चामल, तेल, चिनी, मासु, सागपात तथा फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै बजारमा खाद्यान्नको मूल्य आकाशिएको र सर्वसाधारणलाई दैनिक उपभोगका वस्तु खरिद गर्नसमेत कठिन भएको उनले बताए। 

उनले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्तिसमेत सहज नभएको भन्दै दैनिक आवश्यकताअनुसार ग्यास आपूर्ति नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था रहेको र यही अवस्थाको फाइदा उठाउँदै कालोबजारी भइरहेको उनले बताए। 

उनले बाढीपहिरोपछि देशका विभिन्न स्थानमा आवागमन तथा आपूर्ति व्यवस्था प्रभावित भएकाले त्यसको असर बजारमा परेको भए पनि त्यसैलाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने कार्य स्वीकार्य नहुने बताए। 

विपद्पछिको उद्धार, पुनःस्थापना तथा राहत कार्यलाई प्रभावकारी बनाउन संसद्बाट उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसमेत गरे। उद्धार तथा पुनःस्थापनाका लागि समन्वय, संयोजन र सर्वदलीय सहभागिता सुनिश्चित गर्न यस्तो समिति आवश्यक रहेको उनको भनाइ छ। 

प्रकाशित: ३१ भाद्र २०८३ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App