४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मधेश जाग्दा सिंगो देश जाग्छ, अब उत्तेजना होइन सुशासनको संकल्प गरौं: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समयको माग अनुसार आफूलाई बदल्दै नयाँ ऊर्जाका साथ जनताको माझमा आएको बताएका छन्।

बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै शर्माले मुलुकको परिवर्तन र समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने बताएका हुन्।

उपसभापति शर्माले नयाँ र पुरानो शक्तिबीचको बहसलाई केन्द्रित गर्दै पुरानो हुनु भनेको असान्दर्भिक हुनु नभएको तर्क गरे।

उनले भने, ‘हामीलाई पुरानो भनेर आलोचना गर्नेहरूले बुझ्नुपर्छ, यो धर्ती सबैभन्दा पुरानो हो, तर यसको महत्व कहिल्यै घट्दैन। कांग्रेस इतिहास बोकेको पार्टी मात्र होइन, आफूलाई बदल्न सक्ने जीवन्त शक्ति पनि हो। हामी विशेष महाधिवेशन र नयाँ एजेन्डाका साथ बदलिएर आएका छौँ।’

शर्माले आगामी निर्वाचनपछि मुलुकमा पाँच वर्षसम्म चल्ने स्थिर सरकार र सुशासनको ग्यारेन्टी कांग्रेसले गर्ने बताए। ‘हामीले भिजन १० र प्रतिज्ञा पत्रमार्फत स्पष्ट मार्गचित्र ल्याएका छौँ,’ उनले भने, ‘निर्वाचनपछि बन्ने सरकारले संविधानमा आवश्यक सुधार गर्दै पाँच वर्षसम्म एउटै प्रधानमन्त्रीले मुलुक हाँक्ने र डेलिभरी दिने वातावरण बनाउनुपर्छ। हामी दक्षिण अफ्रिकामा जस्तै निर्वाचन पूर्व नै साझा संवैधानिक सिद्धान्त बनाउन तयार छौँ।’

शर्माले मधेशले नै सिंगो देशको राजनीतिलाई दिशा निर्देश गर्ने बताए। उनले बिपी कोइरालादेखि रामनारायण मिश्रसम्मको योगदानको स्मरण गर्दै भने, ‘रामनारायण मिश्रले भन्नुभएको थियो, महाराज, शिर काटिन सक्छ तर शिर झुक्दैन। त्यही स्वाभिमान र पहिचानको जगमा उभिएको कांग्रेसले मधेश र पहाडलाई जोड्ने पुलको काम गरिरहेको छ।’

उनले थपे, उत्तेजना र आवेगले देश बन्दैन। कसैसँग रिसाएर वा आवेगमा आएर मतदान नगरौँ,’ शर्माले थपे, ‘कांग्रेसले जे लेख्छ, त्यो सोचेर लेख्छ र लेखेका कुरा पूरा गर्ने संकल्प गर्छ। त्यसैले रुख चिन्हमा मतदान गरी देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसलाई दिनुहोस्।’

प्रकाशित: ६ फाल्गुन २०८२ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App