शुक्रबार दिउँसोको समय थियो । ठाउँं थियो भक्तपुरको खरिपाटी । दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरीहरु बसेका थिए । यतिकैमा बम विस्फोट भयो । यतिमात्रै होइन, झडप पनि भयो । दुई जना घाइतेसमेत भए ।
यो दृश्य हो शुक्रबार भक्तपुरमा भएको नमुना मतदानको । यहाँं नमूना मतदान कार्य भएको थियो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै खरिपाटीमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो । मतदानको क्रममा हुनसक्ने सम्भावित आठ वटा अभ्यासहरु गरिएको थियो । मतदानको क्रममा बम विस्फोट भए, झडपहरु भए, ढुंगामुढा भएलगायतका सम्भावित घटनाहरुलाई नियन्त्रण गरी शान्तिपूर्ण निर्वाचन गराउने अभ्यास गरिएको थियो ।
यस क्रममा कृतिम झडपसमेत गराइएको थियो । साथै मतदानस्थलमा दुई पार्टीबीच झडपको नमूनासमेत प्रदर्शन गरिएको थियो । यस क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपपछि त्यहाँं ढुंगामुढासमेत भएको थियो । यसबाट दुई जना घाइते भएको समेत देखाइएको थियो । यति मात्रै होइन, मादक पदार्थ सेवन गरी भोट हाल्न आउने एकजना मतदातालाई मतदान गराउनबाट प्रहरीले रोकेको थियो । त्यस क्रममा उसका पक्षका पार्टी कार्यकर्ताहरुले हुलदंगा गरेका थिए । यसपछि प्रहरीले हस्तक्षेप गरी घटनालाई सामान्य पारिएको थियो । साथै मोवाइल बोकेर मतदान गर्न आउने मतदाताहरुलाई मोवाइल घरमा राखेर मात्रै मतदान गर्न लगाइएको थियो ।
निर्वाचन प्रक्रियाबारे मतदातालाई जानकारी गराउने र मतदान प्रणालीप्रति विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचनको कार्यालय सल्लाघारी भक्तपुरका अनुसार नमूना मतदान कार्यक्रमले विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवा तथा ज्येष्ठ नागरिकलाई मतदान प्रक्रिया बुझ्न सहज बनाएको छ । कार्यालयले वास्तविक मतदानकै जस्तै वातावरण तयार गरी मतदाता नामावली जाँच, मतपत्र वितरण, गोप्य मतदान कक्षमा मत हाल्ने तरिका तथा मतपेटिकामा मत खसाल्ने प्रक्रियाबारे अभ्यास गराएको थियो ।
कार्यक्रममा जिल्ला प्रशाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । नमूना मतदानमा सहभागी मतदाताले मतपत्रमा कसरी छाप लगाउने, बदर मत हुन नदिन के–कस्ता कुरामा ध्यान दिनुपर्ने लगायत विषयमा प्रत्यक्ष जानकारी पाएका थिए ।
निर्वाचन कार्यालयका प्रतिनिधिले नमूना मतदानले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । साथै मतदान केन्द्रभित्र मोबाइल फोन प्रयोग गर्न नपाइने, गोप्यताको संरक्षण गर्नुपर्ने र मतदान अधिकृतको निर्देशन पालना गर्नुपर्नेबारे पनि सचेतना गराइएको थियो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी सिडिओ उमेशकुमार ढकालले स्थानीय प्रशासनले निर्वाचनको दिन शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने जनाए । नमूना मतदान कार्यक्रममा देखिएको उत्साहले आगामी निर्वाचनमा मतदाता सहभागिता उल्लेखनीय रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सयौं निर्वाचन प्रहरी खटिएका थिए । निर्वाचनमा मतदानका लागि पनि उनीहरु नै खटिएका थिए तर विना पोशाकका । कार्यक्रम झण्डै दिनभर चलेको थियो ।
प्रकाशित: ८ फाल्गुन २०८२ १८:०२ शुक्रबार





