गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइलहरू खोलिने बताएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षण गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्। उनले राजनीतिक कनेक्सनका आधारमा जे कुराहरू रोकिएका थिए अब त्यस्तो नहुने दाबी गरे। उनले भने, 'तपाईंले बिगतमा जे देख्नुभएको थियो। राजनीतिक कनेक्सनका आधारमा जे कुराहरू रोकिएका थिए। जे कुराहरू बिथोलिएका थिए अब त्यस्तो हुँदैन।'
मन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेड नै सुशासन भएकाले सुशासन नभएसम्म शान्ति सुरक्षा नहुने जिकिर गरे। उनले शान्ति सुरक्षा भएन भने ६ महिनाभित्रमा निर्वाचन गराउन पनि नसकिने समेत उल्लेख गरे।
‘सुशासन पहिलो सर्त हो। सुशासनका लागि हामीले कसरी प्रवर्द्धन गर्ने। हाम्रा प्राथमिकताहरू के हुनुपर्छ तत्काल। केही राजनीतिक कनेक्सनका आधारमा सुशासनमा जसरी विगतमा अवरोध आयो। यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन।’
अर्यालले सीआईबीमा पुगेर त्यहाँ अनुसन्धान भइरहेका मुद्दा र त्यसलाई तीव्रता दिन गर्नु विषयहरूको बारेमा जानकारी लिएका थिए। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेतलाई अगाडि राखेर उनले अब कुनै पनि प्रभावमा अनुसन्धान नरोक्न निर्देशन दिएका छन्।
प्रकाशित: १० आश्विन २०८२ १२:३८ शुक्रबार





