गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसकेको बताएका छन्। उनले दुई चरणमा चुनाव हुने भनी गरिएका हल्ला निराधार भएको पनि स्पष्ट पारेका छन्।
सप्तरीको राजविराजमा मंगलबार साँझ सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले निर्वाचनबारे निर्वाचन देशभर एकै चरणमा हुन्छ भन्ने कुरामा कुनै शंका नगर्न अनुरोध गरेका हुन्।
देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको दायित्व भएको बताए।
गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेट’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्तिसुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ।’
गृहमन्त्री अर्यालले थप भने, ‘राजनीतिक दलहरूको सक्रियता, जनस्तरको चासो र समग्र परिस्थितिले निर्वाचनको माहोलसमेत मजबुत हुँदै गएको संकेत गरेको छ, पहिलेजस्तो वातावरण नराम्रो छैन, अहिले निर्वाचनको माहोल धेरै सुदृढ हुँदै गएको छ।’
प्रकाशित: ३० पुस २०८२ ०६:३२ बुधबार





