४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

राम्रो काम गर्दा सरकारबाट हटाइयो, जनताको मनबाट कहिल्यै हटेनाैं: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले सुशासन र जनपक्षीय काम गर्दागर्दै षड्यन्त्रपूर्वक हटाइए पनि जनताको मनबाट आफूहरू कहिल्यै नहट्ने बताएका छन्।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अभियानको क्रममा शनिबार लम्जुङमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिए पनि जनताको माया र समर्थन आफूहरूसँगै रहेको दाबी गरे।

‘राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्टाचारको अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं,’ लम्जुङको श्री भक्ति नमूना माध्यमिक विद्यालयमा आयोजित संवाद कार्यक्रममा दाहालले भने।

यसअघि भोर्लेटारमा आयोजित स्वागतसभामा उनले आफूहरूले गरेका ऐतिहासिक कामको प्रचार नहुँदा जनतामा भ्रम छर्ने प्रयास भइरहेको बताए। ‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अरूले कुहेको पिठो बेचिरहेका छन्,‘ उनले भने, ‘त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं।’

अध्यक्ष दाहालले आफ्नो तीन कार्यकालमा मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण, गरिब किसानको ऋण मिनाहा, लोडसेडिङ अन्त्य, मिटरब्याज पीडितलाई न्याय, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र छिमेकीसँग विद्युत व्यापार सम्झौता गर्ने जस्ता ऐतिहासिक काम भएको स्मरण गरे।

अभियानको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्‍याउनु रहेको बताउँदै उनले बैतडीदेखि सुरु भएको अभियानमा जनताको विशाल सहभागिताले आफूलाई उत्साहित बनाएको उल्लेख गरे।

यसअघि शनिबार बिहान अध्यक्ष दाहालले भोर्लेटारमा ‘मर्निङ वाक’ गर्दै स्थानीयसँग घुलमिल भएका थिए। सो क्रममा उनले जनयुद्धका सहिद राममणि भट्टराईको घरमा पुगेर परिवारजनसँग भेटघाट गरे र सहिदको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

उनले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन समेत गरेका थिए। अभियानका क्रममा दाहाललाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए।

प्रकाशित: २२ भाद्र २०८२ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App