२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

हामीलाई ७४ सालको कांग्रेस होइन, १५ सालको कांग्रेस सम्झिनु : गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका कमीकमजोरीलाई सुधारेर पार्टी नयाँ संकल्पका साथ अघि बढेको बताएका छन्।

सोमबार सर्लाहीमा आयोजित चुनावी घरदैलो तथा जनभेटघाट कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन्।

जनताको घरदैलोमा पुग्दा मतदाता र कांग्रेसकै कार्यकर्ताहरूबाट पनि पार्टीको सत्तामुखी राजनीति र गठबन्धनका विषयमा थुप्रै गुनासाहरू आएको उनले स्वीकार गरे।

सभापति थापाले भने, ‘कांग्रेसका साथीहरूको र आम नागरिकको गुनासोको लामो लिस्ट छ। गठबन्धनको राजनीति, सत्ताका निम्ति गरिएका सम्झौता र कांग्रेसले सरकारमा बसेर पनि डेलिभरी दिन नसकेको भन्ने लगायतका विषयमा उठेका प्रश्नहरूलाई हामीले बदलेर, सुधार गरेर नयाँ संकल्पसहित आएका छौं।’

उनले थपे, ‘हामीलाई यो बेलामा २०७४ को कांग्रेस सम्झिनु भएन। २०७४ को कांग्रेस जस्तो देखियो भने किन भोट हाल्ने भन्ने प्रश्न आउँछ। १५ सालको जस्तो कांग्रेस, ४६ सालको जस्तो कांग्रेसबाट प्रेरणा लिएर अहिलेको समयको माग सम्बोधन गर्ने प्रयास नै हाम्रो नयाँ कांग्रेसको संकल्प हो।’

यसैगरी, युवा पुस्ताको रोजगारी र देशव्यापी बेराजगारीको समस्याबारे सञ्चारकर्मीले राखेको प्रश्नमा थापाले यो राष्ट्रिय स्तरको ठूलो विषय भएको बताए।

युवाको रोजगारीको विषयलाई आफूले आफ्नो प्रतिज्ञा पत्रमा पनि प्राथमिकताका साथ समेटेको र यसको समाधानका लागि विशेष योजनाका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: १८ फाल्गुन २०८२ १५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App