२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

आलोचनामा होइन, बीपीको विचार र युवाको आकांक्षालाई जोडेर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको आकांक्षासँग जोड्दै समुन्नत नेपालको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै उनले पार्टीभित्र हुने आलोचनालाई लिएर प्रतिक्रिया दिँदै त्यसैमा केन्द्रित हुँदा लक्ष्यमा पुग्न नसकिने बताए।

‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराख्दा हामी गन्तव्यमा पुग्न सक्दैनौं। बीपी कोइरालाको पुण्यतिथिमा उहाँकै विचार र संस्कारको चर्चा गरौं र त्यसलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्ने संकल्प गरौं,’ उनले भने।

शर्माले जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै नेपाल पनि यसको प्रत्यक्ष असरबाट प्रभावित भएको बताए। उनले दुई वर्षअघि असारमा परेको खडेरी, सोही वर्ष असोज १२ गते काठमाडौंमा आएको बाढी, भारतको टिस्टा क्षेत्रमा आएको विनाशकारी बाढी तथा साउदी अरेबियामा हजका क्रममा ५५ डिग्री तापक्रमका कारण एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे।

उनका अनुसार आईसीमोडको प्रतिवेदनले नेपालसहित हिमाली क्षेत्रमा रहेका ४७ वटा हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने जोखिम औँल्याएको छ।

शर्माले कांग्रेसले सञ्चालन गरेको ‘ग्रिन रन’ केवल दौड प्रतियोगिता नभई जलवायु परिवर्तनप्रति समाजलाई सचेत गराउने अभियान भएको बताए। पृथ्वीको संरक्षणका लागि नेपालका हिमाल जोगाउनु पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै उनले जलवायु परिवर्तनबारे नागरिकलाई शिक्षित बनाउने अभियान आवश्यक रहेको बताए।

बीपी कोइरालाले धेरै पहिले नै वातावरण संरक्षणको महत्व बुझेको स्मरण गर्दै शर्माले वन संरक्षणका लागि निजी स्वामित्वका जंगल राष्ट्रियकरण गरिएको र पछि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ती वन समुदायलाई हस्तान्तरण गरिएपछि नेपाल सामुदायिक वन व्यवस्थापनमा विश्वकै उदाहरण बनेको बताए।

‘आज नेपालले विश्वसामु गर्वका साथ भन्न सक्छ कि हाम्रो कुल भूभागको ४५ प्रतिशतभन्दा बढी क्षेत्रमा वन छ। बीपीले त्यतिबेलै जलवायु संकटको चुनौती बुझेर रुख नै पृथ्वी बचाउने प्रमुख आधार हुने दूरदृष्टि राख्नुभएको थियो। त्यसैले उहाँले कांग्रेसको चुनाव चिन्ह पनि रुख रोज्नुभएको हो,’ शर्माले भने।

प्रकाशित: ७ श्रावण २०८३ १८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App