राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई नख्खु कारागार प्रशासनले नै सुरक्षा चुनौती रहेको जानकारी गराएपछि पार्टीको जिम्मामा बाहिर ल्याइएको स्पष्ट पारेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले बाहिर आएका विभिन्न हल्लाहरूमा सत्यता नरहेको बताएकी हुन्।
‘भदौ २४ गते कारागार प्रशासनबाटै सभापतिज्यूको सुरक्षामा चुनौती छ, हामी सुरक्षा दिन सक्दैनौं भनेर बारम्बार फोन आयो,’ रावलले भनिन्, ‘उहाँहरूले नै पार्टीको शीर्ष नेतृत्व वा परिवारको जिम्मामा लैजान अनुरोध गरेपछि हामीले उहाँलाई बाहिर निकालेका हौं।’
उनका अनुसार, कारागार प्रशासनले पार्टीका कार्यवाहक सभापति, महामन्त्री लगायत दर्जनौं नेताहरूलाई पटक-पटक फोन गरेर सुरक्षा अवस्थाबारे जानकारी गराएको थियो।
त्यसै दिन सभापति लामिछानेकी पत्नी निकिता पौडेल बाटोको असहजताका कारण जान नसकेपछि पार्टीका उपलब्ध नेताहरू गएर लामिछानेलाई जिम्मा लिएर आएको उनले सुनाइन्।
‘यो विषयमा धेरै अतिरञ्जित कुराहरू बाहिर आएका छन्,’ रावलले भनिन्, ‘तर वास्तविकता के हो भने, हामीलाई कारागार प्रशासनले नै सुरक्षा दिन नसक्ने बताएपछि पार्टीले उहाँको सुरक्षाको जिम्मा लिएको हो।’
पत्रको आधिकारिकतामा कारागार नै जवाफदेही हुनुपर्छ
कारागारबाट सार्वजनिक भएको पत्र नक्कली भएको भन्ने प्रश्नमा रावलले उक्त पत्र गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभाग मातहतको नख्खु कारागारको आधिकारिक लेटरहेडमा जारी भएकाले त्यसको जवाफदेहीता पनि कारागार प्रशासनकै हुने बताइन्।
‘पत्रमा कारागार प्रमुखको हस्ताक्षर र छाप छ। त्यो पत्र कसरी जारी भयो, त्यसमा केही त्रुटि छ भने त्यसको छानबिन गर्ने र जवाफ दिने काम सम्बन्धित निकायको हो,’ उनले भनिन्, ‘त्यसमा कुनै आशंका छ भने छानबिन होस्, हामी सहयोग गर्न तयार छौं।’
रावलले पार्टीभित्र पनि उक्त घटना र पत्रको विषयमा छलफल भइरहेको र आवश्यक परेमा छानबिन समितिले यस विषयलाई पनि हेर्ने स्पष्ट पारिन्।
प्रकाशित: ७ आश्विन २०८२ १८:१८ मंगलबार





