उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूले विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै घिसिङले २०६२।६३ पछिको करिब दुई दशकमा मधेसका राजनीतिक शक्तिहरूले उठाएका मुद्दा सही भए पनि तिनको कार्यान्वयन र उपलब्धिबारे समीक्षा आवश्यक रहेको बताए।
‘हामीले मुद्दाहरू उठायौँ, ती मुद्दालाई जनतामाझ पुर्यायौँ। ती मुद्दा समाधान भए कि भएनन् र हामीले उठाएका मुद्दा सही थिए भने त्यसको कार्यान्वयन भयो कि भएन भन्ने कुरामा गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने।
मधेसका राजनीतिक दलहरूले क्षेत्रीय शक्तिका रूपमा प्रभाव स्थापित गरे पनि राष्ट्रिय पार्टीका रूपमा स्थापित हुन नसकेको विषयमा समीक्षा गर्नुपर्ने घिसिङको भनाइ थियो।
‘राष्ट्रिय रूपमा स्थापित हुन सकिएन, त्यसको गम्भीर समीक्षा गरौँ,’ उनले भने।
उनले मधेसका मुद्दासँगै हिमाल, पहाड र तराईका मुद्दालाई सशक्त रूपमा उठाउने राष्ट्रिय राजनीतिक शक्ति आवश्यक रहेको बताए। आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायका लागि राष्ट्रिय पार्टी आवश्यक रहेको उनको भनाइ थियो।
घिसिङले मधेसका राजनीतिक शक्तिहरूले विगतमा उठाएका मुद्दा र प्राप्त राजनीतिक उपलब्धिबीचको अन्तरसमेत हेर्नुपर्ने बताए। मधेसले राष्ट्रपति र प्रधानमन्त्रीजस्ता उच्च राजनीतिक पद प्राप्त गरे पनि जनताको आधारभूत जीवनमा परिवर्तन आयो कि आएन भन्ने विषयमा समीक्षा आवश्यक रहेको उनले बताए।
‘मधेसले धेरै पद प्राप्त गरेको छ। मधेसको छोरा प्रधानमन्त्री र राष्ट्रपति पनि भएको अवस्था छ। अब जनताको आधारभूत विषयमा परिवर्तन भयो कि भएन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ,’ उनले भने।
प्रकाशित: १७ आश्विन २०८३ १४:३९ शनिबार





