नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।
भक्तपुर नगरपालिकाले आइतबार यहाँ आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा २’ पुस्तक परिचर्चा तथा लेखक, सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन्। अध्यक्ष बिजुक्छेँले भने, 'सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वास्थ्यभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने हो, तर परिवर्तनका लागि अझै केही पुस्ताले कुर्नुपर्ने देखिन्छ।'
जनताको भावनालाई कुण्ठित पार्ने काम कसैले गर्न नहुने बताउँदै उनले जबसम्म जनताको भावनालाई कुण्ठित पारिन्छ, तबसम्म देशको प्रगति नहुने बताए।
उनले भने, 'अब नयाँ पुस्तालाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ, जनताले चाहेजस्तो परिवर्तन गर्न अझै केही पुस्ता लाग्छ, जनप्रतिनिधिले त सारा जनताको मन र भावना जितेर काम गर्नुपर्छ।'
समाज सफल पार्न सके देश सफा हुने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेँले नैतिक धरातल खस्किँदै गएको अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीले सही बाटो देखाउनुपर्ने औँल्याए।
प्रकाशित: ८ भाद्र २०८३ ०८:०३ सोमबार





