नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले देश बर्बाद नभई विकास र समृद्धिको ऐतिहासिक काम गरेको दाबी गरेका छन्।
पार्टीमाथि अनेकौँ आरोप लगाएर बदनाम गर्न खोजिए पनि एमालेले पूर्वाधार र नीतिगत क्षेत्रमा असाधारण विकास गरेको उनले बताए।
विरोधीहरूले देश बर्बाद भएको भन्दै भ्रम फैलाउन खोजे पनि तथ्यहरूले एमालेको सरकार हुँदा विकासका ठूला कामहरू भएको देखाउने अध्यक्ष ओलीले सुनाए।
उनले भने, ‘हाम्रा नीतिहरू र कामहरू सही छन्। एमालेले देश बर्बाद पार्यो भन्ने कुरा विल्कुल गलत हो, हामीले देशलाई विकासको बाटोमा हिँडाएका हौं।’
राम्रो काम गर्नेहरूको चरित्रहत्या गर्न र झुटो प्रचार फैलाउन विरोधीहरूले प्रविधिको सुनियोजित दुरुपयोग गरिरहेको उनले आरोप लगाए। ‘एल्गोरिदम र मोबाइल फार्मिङ’ को माध्यमबाट युवा र बालबालिकामा भ्रम तथा आक्रोश फैलाएर एमालेले गरेका असाधारण विकासका कामहरूलाई ओझेलमा पार्ने काम भइरहेको उनको भनाइ छ।
अध्यक्ष ओलीले पार्टीका केही स-साना कमजोरीहरू रहेका हुन सक्ने र त्यसका लागि आफूहरू आत्मसमीक्षा गर्न तयार रहेको बताए। तर, एमालेकै कारण देश तहसनहस भएको भन्ने खालका कपोलकल्पित र झुटा प्रचारलाई पूर्ण रूपमा अस्वीकार गर्ने उनले बताए।
प्रकाशित: १४ असार २०८३ १७:०६ आइतबार





