नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्। उनले निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।
नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा पक्ष) ले बिहीबार नेपालगन्जमा आयोजना गरेको १५औँ नियमित महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले आसन्न निर्वाचनका लागि सम्भावित उम्मेदवारको पहिचान र छनोटको प्रक्रिया अहिलेदेखि नै अघि बढाउन आग्रह गरे।
आगामी मङ्सिरमा हुने पार्टीको १५औँ नियमित महाधिवेशनको तयारीसँगै स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीमा पनि जुट्नुपर्ने उनको भनाइ थियो। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले नै आगामी स्थानीय तह निर्वाचनमा देशभरका ७५३ वटै पालिकामा उम्मेदवारलाई टिकट वितरण गर्ने उनले स्पष्ट पारे।
‘त्यो निर्वाचनमा हामीले सफलता प्राप्त गर्न के–के गर्न सकिन्छ, त्यसमा तपाईंहरू अहिलेदेखि नै लाग्नुस्। तपाईंहरूले नै उम्मेदवार सिफारिस गरेर पठाउनुहुन्छ,’ उनले भने, ‘तथाकथित सानेपा कांग्रेससँग हाम्रो कुनै साइनो छैन। कसलाई उम्मेदवार बनाउने र कसरी जिताउने भन्ने विषयमा क्षमतावान् र नेतृत्व दिन सक्ने साथीलाई उम्मेदवार बनाउन अहिलेदेखि नै सोच्नुस्। तपाईंहरूको सिफारिस जसको आउँछ, उसैले टिकट पाउँछ।’
स्थानीय तह निर्वाचनलगत्तै हुने प्रदेश सभा निर्वाचनका उम्मेदवार पनि स्थानीय स्तरबाट प्राप्त सिफारिसका आधारमा तय गरिने निधिले बताए। २०८२ फागुन २१ मा निर्वाचित प्रतिनिधिसभा सदस्यको पदावधि सकिएपछि २०८७ मा हुने संसदीय निर्वाचनको तयारीमा समेत अहिलेदेखि नै लाग्नुपर्ने उनको भनाइ थियो।
नेता निधिले नेपाली जनताले आफैँ निर्माण गरेको संविधान अहिले अत्यन्त कठिन अवस्थामा रहेको बताउँदै यसको रक्षाका लागि पनि नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे। कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री रहेका बेला जारी भएको संविधानको संरक्षण गर्नु प्रत्येक नेता तथा कार्यकर्ताको दायित्व भएको उनले बताए।
‘नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएको पहिलो पटक हो। नेपालका मालिक भनेका नेपाली नागरिक नै हुन्। संविधान बचाउने काम पनि गर्नुस्,’ निधिले भने।
कार्यक्रमका विशिष्ट अतिथि कांग्रेस नेता एनपी साउदले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस क्षतविक्षत अवस्थामा पुगेको टिप्पणी गरे।
‘आज हामीलाई क्षतविक्षत बनाइएको छ। केही साथीहरूले विशेष महाधिवेशन गर्नुभयो। कांग्रेस बदल्छौँ भनेर लाग्नुभयो। “अबकी बार गगन सरकार” भन्दै चुनावमा जानुभयो, तर परिणामले गगन थापाको नेतृत्व क्षमतालाई फेल गरायो,’ पूर्वमन्त्री साउदले भने।
विशेष महाधिवेशनअघि जस्तोसुकै परिस्थिति आए पनि कांग्रेसले यस्तो अवस्था भोग्नुनपरेको उनको भनाइ थियो। दुईवटा महाधिवेशन नगर्न आफूहरूले सुझाव दिएको स्मरण गर्दै उनले अदालतको निर्णय पर्खन र अधिवेशनमा हतार नगर्न आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गरिएको बताए।
‘हामीले त्यो बेला दुईवटा महाधिवेशन नगरौँ भनेका थियौँ। अदालतको निर्णय पर्खौँ भन्दा पनि उहाँहरूले मान्नुभएन। अधिवेशन गर्न हतार नगर्नुस् भन्दा पनि मान्नुभएन। किन हतार गरेका रहेछन् भन्ने कुराको रहस्य विस्तारै बाहिर आइरहेको छ। योभन्दा धेरै नबोलौँ,’ उनले भने।
नेपाली कांग्रेस संस्थापन पक्षको जिल्ला अधिवेशन तयारी समितिका संयोजक कृष्णबहादुर कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पार्टीका निवर्तमान केन्द्रीय सदस्यद्वय गेहेन्द्र गिरी र गुरु बराल, कांग्रेस बाँकेका पूर्वसभापति एवं पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल, नेता हुर्मत न्यौपाने, निरञ्जनसिंह सिजापति, लुम्बिनी प्रदेशसभा सदस्य माया पुनमगर, माधवराम खत्री, निरज चलाउने, कृष्ण विके रसाइली र रामबहादुर मल्ललगायतले सम्बोधन गरेका थिए।
प्रकाशित: १९ कार्तिक २०८३ २१:३१ बिहीबार





