२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

हामी नयाँ हौं तर बेवकुफ छैनौं, देशलाई ट्रयाकमा ल्याउँदै छौं: सभापति रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न आर्थिक वर्षको बजेट कुनै निर्वाचन क्षेत्र विशेषमा केन्द्रित नभई समग्र नेपालको हितमा निर्माण हुने बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने संसदीय प्रशिक्षणको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति लामिछानेले रास्वपाको सरकार हुँदा जनतामा केही अन्योल देखिएको भए पनि सरकारले अत्यन्तै विचार पुर्‍याएर काम गरिरहेको दाबी गरे। उनले सरकारका कामकारबाहीलाई लिएर संशय नगर्न आग्रह गर्दै परिणाममुखी काम भइरहेको उल्लेख गरे।

‘सरकारका कामबारे के भन्ने भन्ने अन्योल पनि हुन सक्छ, तर सरकारले हरेक कदम सोची विचार गरेर चालिरहेको छ,’ लामिछानेले भने, ‘यसपटक कुनै एउटा क्षेत्रको मात्र होइन, पूरै नेपालको बजेट बन्छ। हामी जनताको काममा केन्द्रित छौं।’

सम्बोधनका क्रममा लामिछानेले हालै जारी भएका अध्यादेशका विषयमा उठेका प्रश्नहरूको समेत बचाउ गरे। उनले ती अध्यादेशहरू देशको विकासलाई गति दिन ‘फास्ट ट्रयाक’ का रूपमा ल्याइएको सुनाए।

‘अध्यादेशका विषयमा प्रश्नहरू उठे, तर ती मुलुकको भविष्यलाई अन्धकार पार्न होइन, प्रक्रियालाई सहज बनाउन ल्याइएका हुन्,’ उनले थपे, ‘हामी नयाँ छौं, तर बेवकुफ छैनौं। हामी देशलाई ट्रयाकमा ल्याउने प्रयास गरिरहेका छौं।’

सभापति लामिछानेले सञ्चारमाध्यम र जनस्तरबाट आउने दबाब वा ‘बुम’ देखि डराएर भाग्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले रास्वपाका सांसदहरूलाई आत्मविश्वासका साथ जनताको पक्षमा उभिन निर्देशन दिँदै मुलुकको भविष्यप्रति पार्टी संवेदनशील रहेको बताए।

प्रशिक्षण कार्यक्रममा रास्वपाका सांसदहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण र सदनमा पार्टीको भूमिकाबारे अभिमुखीकरण गरिएको थियो।

सभापति लामिछानेले सांसदहरूलाई मन्त्री पदभन्दा पनि सदनमा उनीहरूले खेल्ने भूमिकाले देश परिवर्तनमा ठूलो योगदान पुग्ने भन्दै उत्साहित बनाएका थिए।

उनले कुनै पनि हालतमा देश र जनताको हितविपरीतका कार्यमा सम्झौता नगर्ने स्पष्ट पारे।

प्रकाशित: २७ वैशाख २०८३ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App