२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेमा विश्वस्त छौँ: कांग्रेस

नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमार्फत पार्टीले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो। साथै, नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास निर्माणमा देउवाले पुर्‍याएको योगदान तथा लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको नेतृत्वप्रति सम्मानसमेत व्यक्त गरिएको छ।

कांग्रेसले पार्टी र मुलुकमा विधि तथा पद्धति स्थापित गर्न देउवाले लामो समयदेखि गरेको संघर्षको स्मरण गर्दै विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न उनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ।”

कांग्रेसले देउवाको अनुभव, योगदान र नेतृत्वदायी भूमिकाले पार्टीलाई थप सुदृढ, गतिशील र संस्थागत बनाउन सहयोग पुग्ने अपेक्षासमेत गरेको छ।

प्रकाशित: २८ श्रावण २०८३ २१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App