ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिहरूसँग गहन र उपलब्धिमूलक छलफल भएको बताएका छन्। वर्षायाममा बढ्ने विद्युत् उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत् महसुल र बढी विद्युत् खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारीमा लागेको उनले जानकारी दिए।
उनले भनेका छन्, 'उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने हाम्रो स्पष्ट प्राथमिकता हो।'
मन्त्री श्रेष्ठका अनुसार सुनसरी–मोरङ क्षेत्रमा निर्माण भइरहेका नौवटा नयाँ सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो र दिगो बन्नेछ। साथै, उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत् क्षमता र पूर्वाधारको उपलब्धताबारे स्पष्ट जानकारी दिने प्रणाली पनि विकास गरिरहेको उनले बताए।
'विद्युत् उत्पादन बढाउनु मात्र होइन, त्यसको अधिकतम स्वदेशी उपयोगमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रलाई गतिशील बनाउनु हाम्रो लक्ष्य हो,' उनले भनेका छन्।
प्रकाशित: ७ भाद्र २०८३ ११:०३ आइतबार





