नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहर नेपालमा पनि देखिएको बताएका छन्।
पार्टीको दोस्रो विशेष केन्द्रीय महाधिवेशनको बन्द सत्रमा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको बताए।
‘यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ। यस्तो प्रवृत्तिलाई रोकी उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो। लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो,’ उनले प्रस्तावमा भनेका छन्।
प्रकाशित: २८ पुस २०८२ १४:३४ सोमबार

