पर्यटकीय राजधानी पोखरामा भोलिदेखि आरयू फेष्ट हुने भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जिसीआरयू) अन्तर्गत पोखरा–६ बुलौंदीस्थित इभेन्ट सेन्टरमा यही साउन १६ गते शुक्रबार र १७ गते शनिबार आरयु फेष्ट हुन लागेको हो ।
पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ । सोही परियोजना सञ्चालन अन्तर्गत आरयू फेष्ट गर्न लागेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताए ।
आरयू फेष्टमा फोहोरबाट कसरी सामान उत्पादन गरिन्छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्नुका साथै फोहोरबाट उत्पादित सामग्रीको प्रदर्शनी पनि गरिने जनाइएको छ । फेष्टको अवसरमा जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधिबारे संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा पनि गरिने जनाइएको छ ।
साथै फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान पनि गरिने परियोजनाका फोकल पर्सन नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । फेष्टमा उत्सुक विद्यार्थीहरू, दूरदर्शी नीति निर्माताहरू र जिज्ञासु नागरिकहरू सहभागी भई लाभान्वित हुने उनले बताए ।
फेष्टमा उद्योगी तथा कम्पनीका सञ्चालकहरूलाई बोलाएर उनीहरुलाई विस्तारित उत्पादक जिम्मेवारी (ईपीआर)बारे जिम्मेवार बनाउनका लागि छलफल गरिने मेयर आचार्यले जानकारी दिए । उनका अनुसार कुनै कम्पनीले चकलेट, चुरोट, बिस्कुट, चाउचाउको खोल वा पेय पदार्थ उत्पादन गर्छ भने त्यसको प्रयोगपछि निस्कने फोहोरको व्यवस्थापन गर्नका लागि उनीहरुलाई जिम्मेवार बनाउनेबारे फेष्टमा छलफल हुनेछ ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आरयू फेष्ट आयोजना गर्न लागिएको बताए । उनले भने,‘फेष्ट सृजनशील युवाको साझा मञ्च बन्नेछ । साथै यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिनेछ ।’ फेष्ट सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्न कोशेढुंगाा साबित हुने उनले विश्वास व्यक्त गरे । मेयर आचार्यले फेष्ट उद्यमी वा उद्योगी बन्नेहरूका लागि अवसर भएको बताए । उनले भने,‘फोहोर अभिसाप होइन, यो त उद्यमी वा उद्योगी बन्ने अवसर हो ।’
पोखरामा कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनमा आएको छ । यसमा झण्डै एक अर्ब ४४ करोड ८७ लाखको लगानीमा फोहोर प्रशोधनमार्फत रिसाइक्लिङ र अपसाइक्लिङ अन्तर्गत जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ । यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि पोखरा महानगरलाई हस्तान्तरण गर्ने मेयर आचार्यले जानकारी दिए ।
पोखराको प्रदर्शनी केन्द्रमा उत्पादित सामग्रीहरू प्रदर्शनीमा राखिएको छ भने पोखरा महानगरपालिकाका ३३ वटै वडाहरूमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरेर रिसाइक्लिङ र अपसाइक्लिङमार्फत सामग्री निर्माण भइरहेको छ । यस परियोजनामा हालसम्म ३ हजार ३ सय जना आबद्ध भएको मेयर आचार्यले बताए । उनले भने, उत्पादनमा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर रोजगारी दिइएको छ ।’ यस परियोजनाले हरित अर्थतन्त्रको विकासमा योगदान दिँदै रोजगारी सिर्जना गर्ने उनको भनाई छ । दुई वर्षमा ३ हजारलाई स्थायी रोजगारी सिर्जना गर्ने महानगरको योजना रहेको उनले बताए ।
प्रकाशित: १५ श्रावण २०८२ १७:०० बिहीबार





