बाराका पूर्वजिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष बृजकिशोर कुशवाहालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले निलम्बन गरेको छ ।
साउन २८ गते बेलुका वडा कार्यालय मै बन्धक बनाएर बेलहियाका शिक्षक नागेश्वर कुमार यादवलाई कुटपिट गरेको आरोपमा कुशवाहालाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो।
माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिसका आधारमा पार्टीको मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो।
माओवादीको मधेस प्रदेश इन्चार्ज मातृका यादवले जारी गरेको विज्ञप्ति भनिएको छ, 'भदौं ६ गते प्रसौनी गाउँपालिका समितिबाट आएको पत्र र भदौं ७ गते जिल्ला इन्चार्जको सिफारिस अनुसार तथा विगतमा विभिन्न अराजक गतिविधि गरेको तथा पार्टी अनुशासन उल्लंघन गर्दै आएको हुँदा क.बृजकिशोर कुशवाहालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरी कारबाही गरिएको ब्यहोरा जानकारीसहित कार्यान्वयनका लागि निर्देशन गर्दछौं ।'
पीडित शिक्षक यादवले साउन २९ गते जिल्ला प्रहरी कार्यालय, कलैयामा उजुरी दिएका थिए। साथै उनले पार्टी जिल्ला कमिटीलाई समेत पत्र लेख्दै वडाध्यक्ष कुशवाहामाथि कारबाही गर्न माग गरेका थिए।
भदौ १ गते प्रहरीले कुशवाहालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। घटनासम्बन्धी भिडियो र फोटो बरामद भएकाले प्रारम्भिक अनुशन्धानमा कुशवाहा दोषी पाइएको प्रहरीको भनाइ छ ।
प्रकाशित: १० भाद्र २०८२ १५:०४ मंगलबार





