१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

पञ्चायतीविरुद्ध शब्द सङ्‍घर्ष

साहित्य मनोरञ्जनको माध्यम मात्र होइन, सामाजिक रूपान्तरणको अस्त्र पनि हो। स्वतन्त्रता, समानता र न्यायका लागि साहित्यले जनतालाई जगाएर अधिकार प्राप्तिको लडाइँमा लाग्न प्रेरित गरेका अनेकौँ उदाहरण छन्। विभिन्न कालखण्डमा मुलुकको राजनीतिक अवस्था र शासकीय व्यवस्था परिवर्तनका लागि जनतालाई जागरुक बनाउन साहित्यले उल्लेख्य योगदान दिएको पाइन्छ। विगतमा जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनार्थ साहित्यकारहरूले आफ्ना रचनामार्फत जनतामा क्रान्तिको भावना बीजारोपण गरिदिएका थिए। पञ्चायती व्यवस्था ढाल्नेदेखि राजतन्त्र फाल्नेसम्मका अभियानमा साहित्य सर्जकहरूले जनतामा विद्रोहको आगो सल्काइदिएका थिए।

नेपाली साहित्यको इतिहासमा २०१७ देखि २०४६ सालसम्मको अवधि महत्वपूर्ण मानिन्छ। निर्दलीय पञ्चायती व्यवस्थाको उदय र अन्त्य भएको कालखण्ड हो यो। तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गर्दै शिशु प्रजातन्त्रको घाँटी निमोठेर मुलुकमा पञ्चायती व्यवस्था लागु गरेका थिए। यो व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक दल खोल्न पाउने अधिकार र जनताका मौलिक हकलाई कुण्ठित पार्नेे काम गर्यो। राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेपछि विचार प्रवाह र विद्रोह सिर्जनाको सशक्त माध्यम साहित्यलाई बनाइएको थियो। साहित्यकार तथा लेखकहरूले सङ्गठित रूपमै पञ्चायती व्यवस्थाविरुद्धको अभियान चलाएका थिए।  

पञ्चायतकालमा लेखन र प्रकाशनमा ‘सेन्सरसिप’ लगाइएको थियो। शासकको आलोचना गर्ने वा प्रजातन्त्रको वकालत गर्ने लेखरचना जफत गरिन्थे भने लेखक÷प्रकाशकहरू कारबाहीको भागीदार हुन्थे। त्यस किसिमको सकसपूर्ण वातावरणमा साहित्य सर्जकहरूले बिस्तारै आफ्ना रचनामार्फत पञ्चायती व्यवस्थाका विसङ्गति र तानाशाही प्रवृत्तिमाथि प्रहार गर्न थाले। साहित्यमा प्रतीकात्मकता र बिम्बात्मकताको प्रयोग फस्टाउँदै गयो। शासकले सजिलै नबुझ्ने खालका अर्थात् अमूर्त साहित्य सिर्जना हुन थाले। पञ्चायतविरोधी साहित्यिक आन्दोलन खासगरी दुई धारमा अघि बढेको देखिन्छ। एकातिर प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास राख्ने लेखकहरू सोही ढङ्गले साहित्य रचना गर्थे भने अर्कातिर वामपन्थी विचारबाट प्रभावित प्रगतिवादी लेखकहरू पनि उत्पीडित जनताको पक्षमा आवाज बुलन्द गर्थे। यी दुवै धारको साझा लक्ष्य भने पञ्चायती तानाशाहीको अन्त्य र प्रजातन्त्रको पुनर्बहाली नै थियो।

यही कालखण्डमा विभिन्न साहित्यिक पत्रिकाहरूले पनि आन्दोलनलाई ऊर्जा दिए। ‘रूपरेखा’, ‘वेदना’, ‘सङ्कल्प’, ‘उन्मेष’लगायत पत्रिकाले साहित्यका माध्यमले पञ्चायतविरोधी चेतना फैलाउन मद्दत गरे। २००९ सालमा स्थापना भएर निरन्तर क्रियाशील रहँदै आएको ‘प्रगतिशील लेखक संघ’ (प्रलेस) ले पञ्चायतकालमा लेखकहरूलाई भूमिगत रूपमा एउटै मञ्चमा उभ्याउने कार्य गर्यो। तत्कालीन राज्यले ‘एउटै भाषा एउटै भेष’को नीति अवलम्बन गरिरहँदा प्रलेसले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ समाजको व्याख्या गरी जनतामा वर्गसङ्घर्षको महत्व बुझाउन तथा न्याय र समानतामा आधारित समतामूलक समाज निर्माण गर्न कविता, कथा, निबन्ध, नाटक आदिको रचनाका लागि उत्प्रेरणा प्रदान गरेको देखिन्छ। स्रष्टाहरूले सिर्जनामार्फत शासकको विलासिता र व्यवस्थाको खोक्रोपनलाई उदाङ्गो पारिदिएका थिए। विशेषगरी २०३६ सालमा ‘सुधारिएको पञ्चायती व्यवस्था’ कि ‘बहुदलीय व्यवस्था’ भनी जनमतसङ्ग्रहको शाही घोषणा भएपछि बहुदलको पक्षमा जनमत सिर्जना गर्न प्रलेस देशव्यापी रूपमा गोष्ठी र रचना वाचनमा सक्रिय भयो।

जनमतसङ्ग्रहकै अघिपछिको समयमा साहित्यिक आन्दोलन अझ प्रखर भयो। कोठा र गोष्ठीमा सीमित साहित्य सिधा जनताका बिचमा र सडकमा आइपुग्यो। अस्वीकृत जमात, योङ राइटर्स फ्रन्ट र बुटपालिस, सडक कविता क्रान्ति, राल्फा, अमलेख, भोक कविता आन्दोलन, थाहा आन्दोलन, जनआन्दोलन कविताजस्ता आन्दोलन तथा अभियानहरू देखा परे। २०४६ सालको जनआन्दोलनका लागि वैचारिक धरातल तयार पार्न साहित्यको उल्लेखनीय योगदान रहेको देखिन्छ। पञ्चायतविरोधी साहित्यिक आन्दोलन न्याय र स्वतन्त्रताका लागि गरिएको बौद्धिक सङ्घर्ष थियो। यसले नेपाली साहित्यलाई समाजप्रति उत्तरदायी बनाउन र जनआन्दोलन सफल पार्न मेरुदण्डको भूमिका निर्वाह गर्यो। पञ्चायती व्यवस्थाको विरोधमा र प्रजातन्त्र बहालीको पक्षमा गरिएका केही आन्दोलन/अभियानबारे यहाँ छोटकरीमा चर्चा गरिएको छ।  

१. राल्फा समूहको नाममा बेग्लै विद्रोह

नेपाली साहित्यको इतिहास उधिनेर हेर्दा ‘राल्फा’ एउटा बेग्लै साहित्यिक आन्दोलनका रूपमा उभिन आउँछ। यो सांस्कृतिक र वैचारिक विद्रोह पनि थियो। यसले साहित्य सिर्जनासँगै साङ्गीतिक अभियानलाई समेत अघि बढाएको थियो। व्यक्तिगत लेखनको सीमाभन्दा माथि उठेर सामूहिक मोर्चामा बाँधिनुपर्ने विश्वास राल्फामा थियो। तत्कालीन तानाशाही राज्य संयन्त्रको विरोधमा राल्फाको उदय भएको थियो। गीत गाएको पारिश्रमिक दिन रेडियो नेपालले इन्कार गरेपछि युवाहरूबाट गरिएको विद्रोह नै राल्फा जन्मनुको पृष्ठभूमि थियो।

राल्फा समूहको निर्माण २०२४ सालतिर भएको हो। सो समूहमा साहित्य र सङ्गीतका दिग्गजहरू पारिजात, रामेश, रायन, अरिम, मन्जुललगायत थिए। राल्फा आन्दोलनको वैचारिक पक्ष प्रगतिवादनिकट देखिन्छ। राल्फा शब्दको कुनै अर्थ नभए पनि वामपन्थी चिन्तनको प्रभाव परेपछि यसलाई ‘रिभोलुसनरी एक्टिभ लेफ्ट फ्रेन्ड अफ एसिया’ भनेर अर्थ्याइएको पाइन्छ। राल्फालीहरूले जनवादी गीत, कविता, कथा, उपन्यास, निबन्ध, यात्रा संस्मरणजस्ता साहित्यमा योगदान दिएका थिए।

तत्कालीन निर्दलीय पञ्चायती व्यवस्था र सामन्ती संस्कारको विरोध, परम्परागत लेखन शैलीलाई भत्काएर मुक्त छन्द र यथार्थवादी शैलीको प्रयोग, सामाजिक विभेदका विरुद्धमा राल्फा जन्मिएको थियो। यो अभियानले परम्परागत लेखन शैलीलाई चुनौती दिएको थियो। यसले सामाजिक जडता तोड्न नयाँ जागरण ल्याएको थियो।राल्फाका सदस्यहरूले प्रारम्भिक चरणतिर अस्तित्ववादी र विसङ्गतिवादी लेखनको सुरुआत गरेको थियो। त्यतिखेर यसले निराशावादी स्वरलाई घनीभूत रूपमा प्रस्तुत गरेको थियो। पछिल्लो चरणमा भने राल्फा व्यक्तिगत निराशाबाट मुक्त भएर पूर्ण रूपमा प्रगतिवादी र जनमुखी बन्न पुग्यो। सबै किसिमका अन्याय, अत्याचार, शोषण, भ्रष्टाचारको उन्मूलन गर्नुपर्ने र सरकारी रवैयाविरुद्ध नौलो आकाङ्क्षा राख्नुपर्ने मान्यता यसले विस्तार गर्यो। त्यसपछि परिवर्तनका लागि जनजागरण ल्याउने गरी लोकजीवनका सरल लय र जनबोलीका सुन्दर शब्दहरू प्रयोगमा यो समूह अग्रसर भयो।

राल्फाका सदस्यहरू गाउँगाउँ पुगेर जनताका पीडा बुझ्ने र उनीहरूलाई जागरुक बनाउने गर्थे। उनीहरूको पदयात्राले नेपाली गीत–सङ्गीतलाई महलबाट झुपडीसम्म पुर्याएको थियो। राल्फाले नेपाली सङ्गीतलाई मनोरञ्जनको सीमितताबाट बाहिर ल्याई विद्रोही चेतनाको बीजारोपण गराउने दिशामा मोडिदिएको थियो। ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ...’, ‘गरिबको चमेली बोल्दिने कोही छैन...’, ‘आऊ मिलाऔं हाम्रा हातहरू...’ जस्ता चेतनामूलक गीतहरू राल्फाकै जगमा उभिएर सिर्जना भएका हुन्। विकृत यौनलाई रचनामा स्थान दिएको, हिप्पी संस्कृतिको अवलम्बन गरेको र क्लिष्टतालाई अनावश्यक रूपमा अँगालेको भनेर आलोचना खेप्नुपरे पनि नेपाली साहित्यिक र सांस्कृतिक इतिहासको राल्फा त्यस्तो साहित्यिक आन्दोलन बन्न पुग्यो, जसले ‘कला जीवन र रूपान्तरणका लागि पनि हुनुपर्छ’ भन्ने मान्यतालाई स्थापित ग¥यो। आज पनि प्रगतिशील साहित्य र सङ्गीतको चर्चा गर्दा राल्फालाई एक आधारस्तम्भ मानिन्छ।

२. दासताको विरुद्धमा जन्मिएको ‘अस्वीकृत जमात’  

पञ्चायतकालीन नेपाली साहित्यको इतिहास हेर्दा ‘अस्वीकृत जमात’लाईपनि एउटा चर्चित आन्दोलनका रूपमा पाउन सकिन्छ। अस्वीकृत जमात तत्कालीन निरङ्कुशताविरुद्धको एउटा विस्फोट हो। २०२६ सालमा काठमाडौँमा सुरु भएको यस आन्दोलनले परम्परागत लेखन पद्धति र सामाजिक राजनीतिक विसङ्गतिहरूविरुद्ध आवाज उठाएको थियो। यसले दरबार र अभिजात वर्गले पेवाजस्तै बनाएको साहित्यलाई सर्वसाधारणको समस्यासँग जोड्ने काम गरेको थियो। यो समूहमा कविताराम श्रेष्ठ, शैलेन्द्र साकार, भाउपन्थी, मनु ब्राजाकी, अन्जिर प्रधान, जगदीश घिमिरे, पुष्कर लोहनी, इन्द्र राजभण्डारी, प्रेमनारायण, प्रकाशप्रेमी, जगरञ्जनलगायत साहित्यकार संलग्न थिए।

तत्कालीन साहित्यमा व्याप्त सामन्ती सोच, परम्परागत मूल्य–मानयता र सत्ताको चाकरी गर्ने प्रवृत्तिको विरोध गर्नु यसको मूल उद्देश्य थियो। यस जमातको घोषणापत्र २०२७ सालमा ‘मन्त्र’ पत्रिकामार्फत सार्वजनिक भएको थियो। अस्वीकारलाई एउटा प्रक्रियाका रूपमा व्यख्या गर्दै घोषणापत्रमा भनिएको थियो, ‘अस्वीकृत समाज समाज, रचना र भविष्यलाई अस्वीकार गर्छ।’ अस्वीकृत जमातले दासतालाई स्वीकार गर्नै नसकिने धारणा पनि अघि सारेको थियो। ‘अस्वीकृत जमात भनेर यसले केवल परम्परा, आदर्शता, वेतनभोगी, बुद्धिजीवी वा जागिरका निमित्त दास साहित्य लेख्नेहरूका विरुद्ध आफूलाई छुट्टै राख्न र चिनाउन मात्र राखेको हो,’ घोषणापत्रले भनेको थियो। अस्वीकृत हुनु भनेको पराजित हुनु नभई नयाँ सम्भावनाको खोजी गर्नु हो भन्ने मान्यताको विकास अस्वीकृत जमात आन्दोलनको देन हो। पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्नुपर्ने तत्कालीन आवश्यकतालाई यो आन्दोलनले पक्षपोषण गरेको देखिन्छ।  

३. मुक्तिको चाहनामा ‘अमलेख आन्दोलन’

यो आन्दोलन २०२६/२७ सालतिर सुरु भएको हो। अमलेखको अर्थ छुटकारा वा मुक्ति हो। कवितालाई परम्परागत ढाँचाबाट अमलेख वा मुक्त गराउने मुख्य उद्देश्य यस आन्दोलनले बोकेको थियो। यस आन्दोलनमा द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, मोहन कोइराला, मदन रेग्मी, ध्रुवचन्द्र गौतम, रत्नशमशेर थापा, मदन रेग्मी, भुवन कोइराला (ढुङ्गाना) लगायत कवि तथा लेखकहरू सामेल थिए। उनीहरू कवितामा जटिल र विम्ब र प्रतीकहरूको प्रयोग गर्थे र तत्कालीन पञ्चायती व्यवस्थाले भेउ नपाउने गरी विद्रोहको स्वर उराल्थे। उनीहरू तत्कालीन व्यवस्थाले निम्त्याएको अन्धकारबाट मुक्त हुन वैचारिक क्रान्तिमा अग्रसर थिए।

यस आन्दोलनका सक्रिय कविहरूले मानवीय अस्तित्व र सामाजिक विसङ्गतिलाई समेटेर पञ्चायती व्यवस्थाको नाङ्गोेपनलाई उदाङ्गो पार्ने प्रयास गरेका थिए। पञ्चायती व्यवस्थाको समर्थनमा भजन गाउनेहरूका विरुद्धमा पनि यो एउटा विद्रोहको मोर्चा थियो। ‘मौन तर शक्तिशाली’ साहित्यिक विद्रोहको पहिचान बनाएको यस आन्दोलनका समर्थकहरूले कवितालाई हतियार बनाएर ‘मुक्तिमार्ग’ पछ्याउन बौद्धिक वर्गलाई सचेत गराएका थिए। यही अमलेख समूहले ‘सिउँडी’ पत्रिका प्रकाशन गरेको थियो। सिउँडी तिखो काँडा हो। यसको प्रतीक हुने गरी थोत्रा विचारधारा, मान्यता परम्पराबाट मुक्त हुन तथा नयाँ युग तथा अस्तित्वका सन्दर्भमा नयाँ अर्थ खोज्न तथा नयाँ दृष्टि राख्न तिखा र धारिला शब्दहरूको प्रयोगमा अमलेखले रुचि राखेको देखिन्छ।

४. योङ राइटर्स फ्रन्ट र बुटपालिस अभियान

स्वतन्त्रताप्रेमी युवा लेखकहरूको अगुवाइमा २०३१ भदौमा ‘योङ राइटर्स फ्रन्ट’को जन्म भयो र यही समूहको सक्रियतामा भएको ‘बुट पालिस’ अभियानको नेपाली साहित्यमा एउटा विशिष्ट स्थान छ। यसले २०३० को दशकमा पञ्चायती व्यवस्थाको दमन र सामाजिक विसङ्गतिविरुद्ध व्यङ्ग्यात्मक आवाज उठाएको थियो। काठमाडौँको न्युरोडस्थित पिपलबोटनजिकै २०३१ असोज १२ गते योङ राइटर्स फ्रन्टको अगुवाइमा केही लेखक तथा साहित्यकारहरूले सर्वसाधारणको बुटमा पालिस गरिदिएर अर्थात् जुत्ता टल्काइदिएर साङ्केतिक विरोध गर्दा ‘बुट पालिस’का नामले साहित्यको इतिहासमा अङ्कित हुन पुग्यो। उनीहरूले दोस्रो दिन कीर्तिपुरमा र तेस्रो दिन भक्तपुरमा पनि सर्वसाधारणको जुत्ता टल्काइदिने काम गरेका थिए।

तत्कालीन पञ्चायती राज्यव्यवस्थाले पत्रपत्रिकामाथि प्रतिबन्ध लगाएको थियो, अभिव्यक्ति स्वतन्त्रताको अपहरण गरेको थियो। त्यसलाई फुकाउन दबाब सिर्जना गर्ने अभिप्रायले यो आन्दोलन भएको थियो।मोहन घिमिरे, ध्रुव सापकोटा, शैलेन्द्र साकार, भाउपन्थीसहित २१ जना योङ राइटर्स फ्रन्टमा जोडिएका थिए। यो समूहले ‘युवालेखन’ पुस्तक प्रकाशन गर्ने योजना बनाएको थियो। त्यसका लागि दुई हजार रकम अपुग भयो। रकम जोहो गर्न खोज्दा कतिपय व्यक्तिबाट अपमानित हुनुपरेपछि विद्रोहका रूपमा बुट पालिस गरेर रकम सङ्कलन गर्ने निर्णय गरिएको थियो।

‘युवालेखन प्रकाशनार्थ आफ्ना जुत्ताहरू चम्काई सहयोग गर्नुहोस्’ भनेर लेखिएको ब्यानर राखेर मोहन घिमिरे, ध्रुव सापकोटा, शैलेन्द्र साकार, भाउपन्थी, कविताराम श्रेष्ठ, सन्तोष भट्टराई, नारायण ढकाल, काशीनाथ तमोट, तेज खरेल, आनन्द जङ्गली, विनोद रिमाल, हरि न्यौपाने, बद्री घिमिरे, विश्वनाथ न्यौपाने बुट पालिसमा जुटेका थिए। यो एक ऐतिहासिक, वैचारिक र विद्रोही साहित्यिक अभियान थियो। यो केवल जुत्ता टल्काउने काम नभएर सत्ता, सामन्तवाद र अन्यायको विरुद्धमा प्रतीकात्मक विरोध थियो। तत्कालीन पञ्चायती व्यवस्थाका दबदबाका कारण अभिव्यक्ति स्वतन्त्रतामा लेखक तथा कलाकारहरूले विरोध जनाउन रोजेको यो नौलो शैलीले बौद्धिक जगत्मा ठुलो हलचल ल्याएको थियो।  

यो अभियानको एउटा महत्वपूर्ण पक्ष प्रतीकात्मक विरोध त छँदै थियो, चोक तथा गल्लीहरूमा बसेर सर्वसाधारणको जुत्ता पालिस गर्नुको अर्थ ‘श्रमको सम्मान’ गर्नु र अहङ्कारी सत्ताको गुलामी गर्नुभन्दा त श्रमजीवी भएर बाँच्नु गौरवपूर्ण रहेको भन्ने सन्देश दिनु थियो। बौद्धिक वर्गले शारीरिक श्रमलाई हेयका दृष्टिले हेर्ने प्रवृत्तिविरुद्ध पनि यो आन्दोलन एउटा कडा प्रहार थियो।

५. सडक कविता क्रान्ति (२०३६)

निर्दलीय पञ्चायती व्यवस्थाको जगजगी रहेका बेला नेपालमा बहुदलीय व्यवस्थाको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा आन्दोलन चर्काएपछि तत्कालीन राजा वीरेन्द्र शाहले २०३६ जेठ १० गते ‘सुधारिएको पञ्चायत’ कि ‘बहुदल’ भनेर  ‘जनमतसङ्ग्रह’को घोषणा गरे। उक्त शाही घोषणापछि अभिव्यक्ति स्वतन्त्रता केही खुकुलो भएका अवस्थामा भवानी घिमिरे, मोहन कोइराला, अशेष मल्ल, हरिभक्त कटुवाललगायत स्रष्टाहरूले २०३६ जेठ २७ गते घोषणापत्रबिना नै काठमाडौँको न्युरोडस्थित पिपलबोटबाट कविता पढेर ‘सडक कविताक्रान्ति’को घोषणा गरेका थिए। सडक कविता क्रान्तिका क्रममा काठमाडौँ, तनहुँ, भोजपुर, पोखरा, धरान, धनकुटा, राजविराज, लहान, जनकपुर, वीरगन्जलगायत करिब दुई सय ठाउँमा अढाइ सय कविले सडकमा कविता वाचान गरेका थिए। पञ्चायती शासकले गरेको अन्याय र अत्याचारविरुद्ध जनचेतना जगाउन मात्र नभएर जनमानसमा प्रजातान्त्रिक भावनाको विकास गराउने, राजनीतिक चेतना जगाउने कार्यमा उक्त साहित्यिक आन्दोलन केन्द्रित भयो।

सडक कविता क्रान्ति बहुदलीय व्यवस्थामा आस्था राख्ने कविहरूको अभियान हो। यो अभियानले कवितालाई राजनीतिक प्रचारप्रसारको माध्यम बनाए पनि कवितालाई महल र कोठाबाट सडकमा ल्याई आम जनचासोको विषय बनाउने काम गरेको थियो। प्रयोगशील लेखन भन्दै हुने अस्वस्थ अभिव्यक्तिमाथि यसले प्रहार गरेको थियो। अर्थात् क्लिष्ट र दुरुह रूपमा रहेको प्रयोगवादी जटिलताविरुद्ध यो उभियो। सरल र सम्प्रेष्य कविताले मात्र पाठकको मन जित्न सक्छ भन्ने भावनालाई यसले मुखरित गरेको थियो। कविताबाट टाढिँदै गएका पाठकसँग सम्बन्धको नवीकरण गर्न यो आन्दोलनको प्रयास देखिन्छ।  

६. भोक कविता आन्दोलन  

नेपाली सहित्यमा ‘भोक कविता आन्दोलन’को पनि विशेष चर्चा हुने गर्छ। यस आन्दोलनको प्रारम्भ बिन्दु झापा हो। यस आन्दोलनको नेतृत्व भवानी घिमिरेले गरेका थिए। २०३९ सालमा सुरु भएको यस अभियानले देशका विभिन्न भाग र पूर्वतिर सीमासमेत पार गरेर भारतका आसाम, सिक्किमसम्म विस्तार भएको थियो। साहित्यका माध्यमले मानवीय मूल्य र मान्यताको संरक्षण गर्र्नुपर्छ, शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, शोषणरहित समाजको पक्षमा प्रतिबद्ध हुनुपर्छ, शारीरिक तथा मानसिक भोकलाई अभिव्यक्ति गर्नुपर्छ, शोषक वर्ग र शोषण प्रथाको विरोध गर्नुपर्छ भन्ने मान्यता यस आन्दोलनले राखेको देखिन्छ। निम्नवर्गीय जनताका समस्यालाई प्रस्तुत गरी साहित्यलाई जनसामान्यको विषय बनाउने कार्य यस अभियानले गरेको देखिन्छ।

यस आन्दोलनमा भवानी घिमिरेसँगै कृष्ण धरावासी, प्रकाश बुढाथोकी, राजेन्द्र परदेशी, यज्ञराज प्रसाईं, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, अमृतलाल श्रेष्ठ, केशव आचार्यलगायतको संलग्नता थियो। यो आन्दोलनको मुख्य उद्देश्य तत्कालीन व्यवस्थाको विरोध गर्ने, शारीरिक तथा मानसिक भोकलाई अभिव्यक्त गर्ने तथा शोषणरहित समाजको पक्षमा प्रतिबद्ध रहने थियो। अभाव, गरिबी, पछौटेपन, महँगी, नैतिक पतको ह्रास र बेरोजगारीजस्ता सामाजिक समस्यालाई विषय बनाएर उनीहरूले काव्यात्मक रूपमा आन्दोलन गरेका थिए। राजनीतिक आस्था जे भए पनि मानवीय मूल्यमान्यताको संरक्षण गर्दै अशिंसा र शान्तिको पक्षमा वकालत गरेर समानतामा आधारित स्वतन्त्र र शोषणरहित समाज निर्माणमा प्रतिबद्ध हुनुपर्ने धारणा यस आन्दोलनको रहेको देखिन्छ।  

७. प्रजातन्त्र पुनर्बहालीअघि सशक्त ‘जनआन्दोलन कविता’

राजनीतिक महत्व बोकेको २०४६ साल साहित्यक दृष्टिले पनि उल्लेखनीय छ।  जनआन्दोलनको नैतिक समर्थन गर्दै घोषणापत्रबिना नै देखा परेको यो अभियान सडक कविता क्रान्तिको अर्को रूप हो। सङ्कटमोचनका लागि उत्प्रेरणा प्रदान गर्न थालिएको यस अभियानले राजनीति सापेक्ष स्वरलाई अगाडि ल्याएको देखिन्छ। २०४६ फागुन ७ गते प्रकाशित भएको ‘वसन्तको खोजीमा’ कवितासङ्ग्र्रह यस आन्दोलनलाई अगाडि ल्याउने मुख्य दस्ताबेज हो। जनआन्दोलनको घोषणा गरेकै दिन प्रकाशितयस सङ्ग्रहमा मोहन कोइराला, अशेष मल्ल, विनय रावल, फणीन्द्र नेपाल लगायत १८ कविका रचना सङ्कलित छन्।

यस अभियानमा सरिक भएका कविका कविताहरूमा मूलतः तत्कालीन सकसपूर्ण जीवनको अन्धकारबाट उज्यालोतर्फ अग्रसर हुन जनतालाई उत्प्रेरित गर्ने, जनसमक्ष क्रान्तिका स्वरहरू पुयाई विजय हासिल गर्ने, आशावादी स्वर घन्काउने, व्यङ्ग्यका माध्यमबाट निरङ्कुशताको विरोध गर्नेजस्ता भावहरू अभिव्यक्त भएका देखिन्छन्। स्पष्ट राजनैतिक उद्देश्यद्वारा अभिप्रेरित भई जनजागरणका लागि लेखिएका यस अभियानसँग सम्बध केही कविताको कलात्मक मूल्य कमजोर रहे पनि कवितालाई सरल र सम्प्रेष्य बनाई जनसामान्यको विषय बनाउने कुरामा यो अभियानले ठुलो भूमिका खेलेको छ।

पञ्चायती शासनविरुद्धमा भइरहेको जनआन्दोलनलाई समर्थन गर्दै २०४६ सालमा ‘जनआन्दोलन कविता’ अगाडि आएको थियो। युद्धप्रसाद मिश्र, पारिजात, मोहन कोइराला, नयनराज पाण्डे, अशेष मल्ल, विनय रावल, ज्ञानुवाकर पौडेल, विक्रम सुब्बा, फणीन्द्र नेपाल,विमल निभा, दुबसु क्षेत्री, मन्जु, जीवनाथ धमला, श्यामललगायत विभिन्न लेखक, कवि तथा कलाकारले यो आन्दोलनमा समर्थन जनाएका थिए। आन्दोलनले व्यापक रूप लिएको थियो। ५० दिनसम्म चलेको आन्दोलनमा तत्कालीन पञ्चायती शासकका विरुद्धमा उनीहरूले आवाज उठाएका थिए। आन्दोलमा प्रजातन्त्रवादी नेपाली लेखक तथा कविहरूको ठुलो समर्थन थियो।

८. अन्य केही चर्चित आन्दोलन

विभिन्न समयमा देखा परेका अन्य केही आन्दोलनले प्रत्यक्ष–परोक्ष रूपमा पञ्चायती व्यवस्थालाई कमजोर बनाउने र प्रजातन्त्रको पुनर्बहाली गर्ने सन्दर्भमा जागरण फैलाएको देखिन्छ। २०२० सालमा दार्जिलिङबाट सुरु भएकोआयामेली आन्दोलन महत्वपूर्ण रहेको देखिन्छ।  यो आन्दोलनका प्रवर्तक बैरागी काइँला, ईश्वर बल्लभ र इन्द्रबहादुर राई (तेस्रो आयाम) हुन्। वस्तुलाई लम्बाइ, चौडाइ र गहिराइ (आयतन) गरी तीन वटै पक्षबाट हेरिनुपर्छ भन्ने मान्यता यसले राखेको पाइन्छ।

२०२४ सालमा लेकाली सांस्कृतिक अभियान चलेको देखिन्छ। लेकाली परिवारमा हिरण्य भोजपुरे, गणेश रसिकलगायत थिए। पुराना मान्यता नमान्ने, नयाँलाई पनि अन्धाधुन्ध रूपमा नअँगाल्ने र आफ्नोपनलाई नबिर्सी अगाडि बढ्ने मान्यताको जगमा यो अभियान जन्मिएको पाइन्छ। आयामेली आन्दोलनका अगुवा  इन्द्रबहादुर राइले नै २०३४ सालमा लीलालेखनलाई आन्दोलनका रूपमा अघि बढाए। एउटै वस्तुलाई फरक द्रष्टाले विभिन्न तरिकाले देख्ने हुँदा यथार्थ सत्य वस्तुलाई कसैले देखेको हुँदैन भन्ने मान्यता यसले राखेको देखिन्छ। २०३८ सालमा रूपचन्द्र विष्टले हरेक कुरा थाहा पाएर मात्र गर्नुपर्छ, थाहा नपाउने मान्छेलाई थाहा दिनुपर्छ भन्दै निष्पक्ष सक्रियताको पक्षमा वकालत गरेका थिए। उनको यो राजनीतिक–सांस्कृतिक आन्दोलन ‘थाहा आन्दोलन’ को नामले परिचित छ।

पञ्चायतकालीन नेपाली साहित्यमा तरलवादले बेग्लै तरङ्ग ल्याएको थियो। २०४० वैशाख १ गते कवि फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठको संलग्नतामा नौ बुँदे घोषणापत्रसहित तरलवाद आन्दोलनको थालनी भएको हो। साहित्यका पुराना परिभाषा र मान्यताहरू दिनप्रतिदिन गतिहीन एवं ह्रासोन्मुख हुँदै गएकाले यी कविहरूले नयाँ मान्यता स्थापनाका लागि तरलवाद सुरु गरेको देखिन्छ। २०४३ सालमा जीवन शर्माको पहलमा सुरु भएको रक्तिम सांस्कृतिक अभियानले नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा विशिष्ट भूमिका खेलेको छ। यस समूहमा राधा बुढाथोकी, सुजाता तामाङ, झोकेन्द्र थापा, कृष्ण अर्याललगायत सामेल थिए। देशको प्रगतिशील–सांस्कृतिक आन्दोलनमा रक्तिम परिवारको लामो समयदेखि विशिष्ट भूमिका रहँदै आएको छ।

प्रकाशित: ११ वैशाख २०८३ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App