७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा चौथोबाट पहिलो दल बन्ने वाग्लेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपा देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले अहिले चौथो शक्तिमा रहेको पार्टीलाई अब एक नम्बरको पार्टी बनाउने उद्घोषका साथ अघि बढेको बताएका हुन्।

विगतको स्मरण गर्दै वाग्लेले भने, ‘२०७९ सालको मंसिर ४ गते घण्टी बोकेर मत माग्दै गर्दा करिब १२ लाख मत ल्याउने गरेर रवि लामिछानेजीको आह्वानमा रास्वपा छोटो समयमा स्थापित भयो। उहाँहरूकै ताकतमा र उहाँहरूले चालेको त्यो प्रारम्भिक पाइलाकै जगमा आज रास्वपा यो उचाइमा आइपुगेको छ।’

उनले पार्टीको आगामी लक्ष्य प्रस्ट पार्दै भने, ‘फागुन २१ को अर्को आसन्न निर्वाचन हेर्दै गर्दा त्यसमा हामीले अब चौथो नम्बरबाट एक नम्बरकै पार्टी बन्ने उद्घोषका साथ हामीहरु अगाडि बढेका छौं।’

सोही अवसरमा वाग्लेले मतदाता नामावली अद्यावधिक गर्ने समय कम रहेको भन्दै सबैलाई सचेत गराए। उनले देश तथा विदेशमा रहेका नेपालीलाई मंसिर ५ गतेभित्र आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन आग्रह गरे।

‘मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने अझै पनि मौका छ, भोलि अझै एक–डेढ लाख जना थपिनुहोला,’ उनले भने।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै वाग्लेले रास्वपाले देशको वास्तविक चित्र कोर्ने प्रयास गरिरहेको बताए।

सुदूरपश्चिमदेखि मधेस र काठमाडौं उपत्यकासम्मका विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू पार्टीमा जोडिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘यो देशको अनुहार जस्तो छ, हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भन्ने समावेशीताको मर्मलाई रास्वपाले अपनत्व लिएको छ।’

कार्यक्रममा आनन्द मिश्र, भुवन केसी (उद्यमी) लगायत १५ जना विभिन्न क्षेत्रका व्यक्तिहरू रास्वपामा प्रवेश गरेका थिए।

प्रकाशित: ४ मंसिर २०८२ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App