१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

धिमाल जातिको बजेट काट्नेहरूलाई यसपटक मतदाताले दण्डित गर्नुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले झापाको आदिवासी धिमाल समुदायको विकासका लागि छुट्याइएको बजेट पूर्वाग्रही ढंगले काटेको आरोप लगाएका छन्।

आइतबार झापा क्षेत्र नं-५ मा निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनाहरू वर्तमान सरकारले रोकेको दाबी गरे।

आफ्नो कार्यकालमा धिमाल जातिको उत्थानका लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको स्मरण गर्दै ओलीले भने, ‘हामीले चिया बगानबाट उत्तर आउने बाटोका लागि ३ करोड, धिमाल संग्रहालय विकासका लागि ३ करोड र धिमाल होमस्टेका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएका थियौँ। तर म सरकारबाट हटेपछि यो सरकारले ती सबै योजना र बजेट अनधिकृत ढंगले काटिदिएको छ।’

उनले बजेट राख्ने र बजेट काट्ने शक्तिहरूबीचको यो चुनाव भएकाले मतदाताले विकास विरोधीहरूलाई चिन्नुपर्नेमा जोड दिए। ‘हामी चुनाव जितेर आएपछि काटिएको बजेट पुनः ल्याउनेछौँ र ती अधूरा योजनाहरू पूरा गर्नेछौँ,’ उनले प्रतिबद्धता व्यक्त गरे।

झापामा निर्माण गरिएको धिमाल समुदायको स्मारक भत्काइएकोमा आपत्ति जनाउँदै ओलीले यो चुनाव सालिक राख्ने र सालिक भत्काउनेहरूबीचको प्रतिस्पर्धा भएको टिप्पणी गरे।

उनले भने, ‘हामीले सम्मान दियौँ, उनीहरूले अपमान गरे। अब भत्काउनेहरूलाई साथ दिने कि निर्माण गर्नेहरूलाई ? यसको फैसला मतदाताले गर्नुपर्छ।’

आफ्नो धिमाल समुदायसँगको सम्बन्ध २०२७ सालदेखि नै रहेको उल्लेख गर्दै ओलीले आफू यो जातिको सुख-दुख र संस्कारसँग नजिक रहेको सुनाए।

धिमाल जातिको भाषा, भेषभूषा र संस्कृतिको संरक्षणका लागि एमालेले ठोस काम गर्ने र आगामी दिनमा यो समुदायका शिक्षित युवाहरूलाई राज्यको विभिन्न निकायमा उचित प्रतिनिधित्व गराउन ध्यान दिने आश्वासन समेत उनले दिए।

कार्यक्रममा अध्यक्ष ओलीले विपक्षीहरूले जतिसुकै घेराबन्दी गरे पनि एमालेको विकासको एजेन्डालाई जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ३ फाल्गुन २०८२ १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App