निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै दर्ता गर्न सकिने नयाँ व्यवस्था सुरु गरेको छ। यसले अन्तिम समयमा निर्वाचन कार्यालयहरूमा हुने भीडभाड कम हुने अपेक्षा गरिएको छ।
आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति कात्तिक ३० गते हो। नयाँ अनलाइन सुविधाका कारण यो अवधिमा नयाँ मतदाताको सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको छ। यो नयाँ प्रणालीले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहज बनाएको छ। विदेश जान पासपोर्ट बनाउनुअघि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले धेरै नेपालीहरूसगँ उक्त परिचयपत्र हुदाँ उनीहरुले विदेशमै बसेर पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्ने भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्याङ्कअनुसार अहिलेसम्म करिब १ करोड ९० लाख जनाको विवरण सङ्कलन भइसकेको छ। तर २०७९ सालसम्मको मतदाता नामावलीमा भने १ करोड ७९ लाख ८८ हजार को मात्रै नाम थियो।
आयोगमा मतदाता नामावली दर्ताको लागी नयाँ प्रणाली आउनु अघिसम्म २ लाख ३९ हजार ९४० जनाले नाम दर्ता गराएका थिए। यस तथ्याङ्कले राष्ट्रिय परिचयपत्र भएका ७ लाखबढि व्यक्ति अझै मतदाता नामावलीमा समावेश नभएको देखाउँछ।
प्रकाशित: २८ कार्तिक २०८२ ११:२४ शुक्रबार





