८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

६ हजार ७४३ वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन

वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सुरु

जेनजी आन्दोलनपछि अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मतदानका लागि १३ दिन मात्र बाँकी रहेको छ। यससँगै निर्वाचन आयोगले देशभर वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहमा रहेका छ हजार सात सय ४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवकहरूले मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराईरहेको आयोगले जनाएको छ । 

आयोगले निर्वाचन शिक्षा प्रवर्धन गर्न आयोगको मातहतमा रहेका संघसस्था तथा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको मतदाता शिक्षा इकाईले हालसम्म ३४५ सामग्री स्वीकृत गरी आयोगका आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमार्फत सार्वजनिक गरेको आयोगले जनाएको छ ।  

निर्वाचनका लागि मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गर्दै निर्वाचनको स्वच्छता बढाउने, आधिकारिक र विश्वसनीय सूचना प्रवाह गर्ने तथा मिथ्या र भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने आयोगले विश्वास गरेको बताएको छ।

आयोगले उत्पादन गरेका संवादमूलक भिडियो सन्देश, गीति सन्देश, लघु भिडियो तथा जिंगल प्रसारण सुरु गरिएको छ। ती सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट सार्वजनिक भइरहेका छन्। यस्ता सन्देशले मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने र आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने लक्ष्य राखिएको छ। मतदान प्रतिशत वृद्धि र बदर मत घटाउने अपेक्षा आयोगले गरेको छ।

मतदाता शिक्षा कार्यक्रमको अनुगमनका लागि आयोगले यसअघि स्थानीय तहमा तोकेका व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता बनाएर अभिमुखीकरण कार्यक्रम गरेको हो। 

प्रकाशित: ८ फाल्गुन २०८२ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App