२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पुराना नेताहरूलाई ‘तराजु’ मा जोख्दै ‘घण्टी’ मा भोट हाल्नुस्: समीक्षा

‘रास्वपालाई प्रेम गरेर आएका हौं’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेताहरूलाई तराजुमा जोखेर मात्र भोट हाल्न आम मतदातालाई आह्वान गरेकी छन्।

आइतबार राजधानीमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा र पुराना दलका नेताहरूलाई तराजुमा राखेर तुलना गर्न र सही व्यक्तिलाई मात्र भोट दिन आग्रह गरेकी हुन्।

सम्बोधनका क्रममा बाँस्कोटाले विवेकशील साझा पार्टीको विगतको चुनाव चिह्न तराजुलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै भनिन्, ‘अब तराजुमा के जोख्ने भन्दा, पुराना दलका नेतालाई जोख्नुस् र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई जोख्नुस्। जोखिसकेपछि तपाईंको मनमा यो व्यक्ति चाहिँ ठीक छ भन्ने लाग्छ भने, तराजुमा जोख्दै घण्टीमा भोट हाल्नुस्।’

उनले उज्ज्वल थापाले ‘कुकुर’ चुनाव चिह्न रोजेर नेता बफादार हुनुपर्छ भन्ने सन्देश दिएको र पछि ‘तराजु’ चुनाव चिह्न रोजेर न्याय र सन्तुलनको सन्देश दिएको स्मरण गर्दै अब ‘घण्टी’ मा पनि सबै कुराको ‘सिक्वेन्स’ मिलेको बताइन्।

एकीकरण प्रक्रियामा कुनै शर्त राखिएको छ कि भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘निःशर्त भनेको सबैभन्दा ठूलो शर्त हो। जसरी बुबा-आमालाई गर्ने प्रेम र प्रेमीले प्रेमिकालाई गर्ने प्रेम निःशर्त हुन्छ, त्यसैगरी हामीले देशलाई गर्ने प्रेम पनि निःशर्त हो।’

उनले देश बनाउने निःशर्त अभियानमा प्रश्न उठाउन नमिल्ने बताउँदै भनिन्, ‘तपाईं प्रेमिकाका लागि घरबार छोड्न तयार हुनुहुन्छ, आकाशको जुन झार्न तयार हुनुहुन्छ, अनि हामीले देश बनाउन गरेको निःशर्त एकतामाथि प्रश्न गर्ने ?’

बाँस्कोटाले नयाँ पुस्ता अर्थात् ‘जेन-जी’ ले आफूहरूलाई झकझकाएको र आँखा खोलिदिएको बताइन्। उनले भनिन्, ‘थ्याङ्क यू जेन-जी, थ्याङ्क यू प्रेम आचार्य ! जसले हाम्रो आँखा खोल्दिनुभयो। जेन-जी भाइबहिनीहरूको प्रश्नको जगमा नै आज रास्वपा र विवेकशील साझाबीच एकीकरण भइरहेको छ।’

सडक आन्दोलन कसैको ठेक्का नभएको बताउँदै उनले भनिन्, ‘सडक रञ्जु, समीक्षा वा समुन्द्रहरूको ठेक्का मात्र होइन। जसरी सत्ता केपी ओलीको मात्र ठेक्का होइन, त्यसरी नै सडक पनि कसैको पेवा होइन। अब नयाँ पुस्ता सडकमा आउनुपर्छ।’

उनले १२ वर्षदेखि खारिएर आएका नेताहरू भएकाले चुनौती झेल्न र समस्या समाधान गर्न आफूहरू तयार रहेको समेत बताइन्।

प्रकाशित: १४ मंसिर २०८२ २०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App