आगामी फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ ले पार्टीका नेता विजयकुमार गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ।
बुधबार बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ नेता गच्छदारको नाम सिफारिस गरेको हो।
गच्छदारले आफूलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्न दबाब दिए पनि क्षेत्रीय समितिले त्यसलाई अस्वीकार गर्दै तीन जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ।
क्षेत्रीय सभापति मेहदी हुसेनका अनुसार सिफारिस हुनेहरूमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, दुहबी नगरपालिकाका मेयर एवं गच्छदारका भतिजा वेदनारायण गच्छदार र ओम थापा रहेका छन्।
यदि केन्द्रबाट टिकट पाएमा विजयकुमार गच्छदारले आठौँ पटक चुनावी प्रतिस्पर्धा गर्नेछन्। २०४८ सालयता भएका सबै निर्वाचनमा अपराजित रहँदै आएका गच्छदार २०७९ सालको पछिल्लो निर्वाचनमा भने नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए।
त्यसअघि दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा पनि उनले चौधरीसँग नै कडा प्रतिस्पर्धाबिच जित हासिल गरेका थिए।
२०६४ सालमा कांग्रेस छाडेर मधेसवादी दलमा गएका गच्छदार १० वर्षपछि पुनः पुरानै घर फर्किए पनि उनको पहिलेको जस्तो प्रभाव क्षेत्रमा देखिँदैन। अर्कोतर्फ, बालुवाटार जग्गा प्रकरणमा मुछिएका कारण जनस्तर र कार्यकर्तामाझ उनको लोकप्रियतामा कमी आएको विश्लेषण गरिन्छ।
सुनसरी क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस भएको छ। क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासहित कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिना गौतम, महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरेको छ।
क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय राजीव कोइराला, राजीव ढुङ्गाना र पूर्व राज्यमन्त्री सीताराम मेहताको नाम सिफारिस भएको छ।
२०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भई संसदीय दलको नेतासमेत बनेका कोइराला पार्टीका पूर्व जिल्ला सभापति हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका रामप्रसाद मेहतासँग पराजित भएका थिए।
नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष ढुङ्गाना हाल कांग्रेस केन्द्रीय सदस्य छन्। २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी पहिलो पटक संसदीय निर्वाचनका लागि दाबेदार बनेका हुन्।
यस क्षेत्रबाट चार पटक निर्वाचन लडेर दुई पटक जित र दुई पटक हार व्यहोरेका मेहता पूर्व यातायात राज्यमन्त्री हुन्।
सुनसरी क्षेत्र नं. ४ बाट यसअघि दुई पटक निर्वाचित पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ५ जनाको नाम सिफारिस भएको छ।
सिफारिस हुने अन्यमा डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी र नवीन श्रेष्ठ रहेका छन्। सिफारिसमध्ये श्रेष्ठ यस क्षेत्रमा कम परिचित अनुहार हुन्।
प्रकाशित: २४ मंसिर २०८२ १८:१० बुधबार





