२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

मदनको जन्मजयन्तीमा विद्याको सन्देश: कम्युनिष्ट आन्दोलन बलियो बनाउन आत्मसमीक्षा, नवप्रयोग र जनविश्वास आर्जन गरौँ

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन अहिले नयाँ अवसर र चुनौतीहरूको मोडमा उभिएको बताएकी छन्। उनले बदलिँदो सामाजिक यथार्थ, नयाँ पुस्ताको अपेक्षा र राजनीतिक परिवेशअनुसार आन्दोलनले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन्।

उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई पुनः मूल्याङ्कन गर्ने अवसर दिएको उल्लेख गरिन्। यद्यपि, कुनै एक निर्वाचन परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो।

भण्डारीले बदलिँदो पुस्ता, सामाजिक संरचनाको रूपान्तरण, प्रविधिको तीव्र विकास र युवाहरूको नयाँ आकांक्षालाई सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श जोगाउँदै नीति, कार्यशैली र संगठनात्मक अभ्यासमा निरन्तर सुधार गर्नुपर्ने धारणा राखिन्।

उनले आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन, नवप्रयोग तथा जनतासँगको जीवन्त सम्बन्धमार्फत आन्दोलनको सान्दर्भिकता र प्रभावकारिता थप बलियो बनाउन सकिने विश्वास व्यक्त गरिन्। मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले रचनात्मकताको अभाव कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको उल्लेख गरिन्।

प्रकाशित: १४ असार २०८३ १७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App