विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनहरूको अराजक व्यवहारका कारण काम गर्ने वातावरण नभएको र आफ्नो मनोबल गिर्दै गएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष दु:खेसो पोखेका छन्।
सोमबार प्रधानमन्त्री एवं कुलपति शाहसँगको छलफलमा ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूले विश्वविद्यालय परिसरभित्र दलीय राजनीतिको बढ्दो हस्तक्षेप र भ्रातृ संगठनहरूको गतिविधिका कारण प्रशासनिक तथा शैक्षिक मर्यादा कायम राख्न कठिन भएको बताएका हुन्।
उपकुलपतिहरूले विद्यार्थी संगठनका नेता-कार्यकर्ताको दबाब र अराजक शैलीले विश्वविद्यालयको दैनिक कामकाज समेत प्रभावित भएको उल्लेख गरे।
उपकुलपतिहरूको गुनासो सुनेपछि प्रधानमन्त्री शाहले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त बनाउन कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
उनले विश्वविद्यालयका कोठा, भवन तथा जमिन ओगटेर बसेका दलगत भ्रातृ संगठनका कार्यालयहरू सुरक्षाकर्मी परिचालन गरेर भए पनि खाली गराउन निर्देशन दिए।
छलफलकै क्रममा प्रधानमन्त्री शाहले विश्वविद्यालयको साख जोगाउन र विद्यार्थीको भविष्यप्रति संवेदनशील हुन उपकुलपतिहरूलाई आग्रह गरे।
उनले स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न र त्रिभुवन विश्वविद्यालयबाट अन्य विश्वविद्यालयले लिनुपर्ने समकक्षताको झन्झटिलो व्यवस्था तत्काल अन्त्य गर्न निर्देशन दिए।
विश्वविद्यालयलाई प्राज्ञिक थलोका रूपमा मात्र विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कुनै पनि प्रकारको राजनीतिक दबाब वा हस्तक्षेप स्वीकार्य नहुने बताए।
प्रकाशित: ७ वैशाख २०८३ १६:५४ सोमबार





