नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले मिडिया र नेताहरूका घर अगाडि छाडिएका गाडीहरू जफत गर्नुपर्ने बताएका छन्।
नियोजित रूपमा राखिएका शंकास्पद गाडीलाई चिट काटेर मात्र छाड्न नमिल्ने भन्दै उनले यस्तो बताएका हुन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्यबाट संरक्षित केही मान्छेबाट यस्ता गतिविधि भएको देखिएको र उनीहरूलाई पाँच सय रुपैयाँ जरिवाना गरेर मात्र नपुग्ने बताए।
‘हिजो मिडिया हाउसको अगाडि एकाबिहानै गाडीहरू तेर्स्याइयो। प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम भयो। आज ५०० रुपैयाँको चिट काटेर उनीहरूलाई छोड्दैछ भन्ने कुरा सुनियो। यो राज्य आतंक, राज्य आफैँले सिर्जना गर्ने, आफैँले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने, उनीहरूलाई ५०० को चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन। यसलाई लाखौंको जरीवाना तिराउनु पर्दछ र ती गाडीहरू जफत गरिन पर्दछ,’ उनले भने।
प्रकाशित: ३० असार २०८३ १२:२६ मंगलबार





