अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री पल कपुर काठमाडौं आइपुगेका छन्। सहायक विदेशमन्त्री कपुर सोमबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
यसबारे जानकारी गराउँदै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ,‘हामी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुरलाई नेपालमा न्यानो स्वागत गर्दछौँ ! उहाँले यस भ्रमणमा अमेरिका-नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुनेछ।’
नेपालमा बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित उनी काठमाडौं आइपुगेका हुन्। नेपाल भ्रमणमा रहँदा उनले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
तीन दिने भ्रमणको लागि काठमाडौं आएका उनी बुधबार फर्किने कार्यक्रम रहेको छ।
प्रकाशित: ७ वैशाख २०८३ ११:१७ सोमबार





