राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठ्यक्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन्।
सङ्खुवासभामा रहेको मादी माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए।
“गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ”, उनले भने।
शिक्षा समृद्धिको आधार भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तीब्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको चर्चा गरे।
“यसका लागि कृषिलाई आधुनिकिकीकरण, व्यावसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा प्रदान गर्ने गरी आवश्यक पाठय्क्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ भन्ने म ठान्दछु”,राष्ट्रपति पौडेलले भने।
उनले देशको लागि स्वदेशमै केही गरौं भन्ने सृजनशील जनशक्तिको आवश्यकता औल्याए। उनले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन बताए। “यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सृजना गरेर विदेश पलायन भैरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माण गर्न पनि सीपमूलक शिक्षा आजको आवश्यकता हो, यसमा हाम्रो ध्यान केन्द्रीत गरौं”, राष्ट्रपति पौडेलले भने। उनले नेपाली जनताको ठूलो बलिदान, त्याग र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र यो व्यवस्थामार्फत समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गएको बताए।
आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको उनको भनाइ थियो ।
“एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीब्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जानेछन्, समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको वेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त हो भन्ने चाँही हामीले भुल्नु हुन्न”, राष्ट्रपति पौडेलले भने।
उनले सुन्दर प्रकृतिले प्रचुर पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा जलविद्युत उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको तथा छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना उत्तिकै रहेको उनको भनाइ थियो। “अमूल्य वनस्पति, जडिबुटी र कृषि खेतीको पनि यो उर्वर भूमि हो, मैले भन्दै आएको छु कि हाम्रो देशको विकासको आधार भनेको कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दाको विकास एवम् विस्तार नै हो, जुन यहाँको भौगोलिक र प्राकृतिक संरचना र स्वरुपले पनि पुष्टि गर्दछ”, उनले भने।
प्रकाशित: १२ भाद्र २०८२ १५:३६ बिहीबार

