१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अनुपम अभियान: मिसन ०८४–‘महिला नै पहिला’

रोल्पामा आयोजित अनुपम अभियान कार्यक्रम । फोटो दिनेश नागरिक

गोलो घेरामा खचाखच भरिएको जिल्ला समन्वय समितिको हल । स्थानीय तहका जनप्रतिनिधि सहित अधिकांश महिलाहरूको उपस्थिति । अगाडी ब्यानरमा ‘देशव्यापी महिलावादी अनुपम अभियान’ टाँसिएको । यसैमा एक वृद्ध महिला कार्यक्रम स्थलमा भित्रिइन । सबैको चासो थियो को हुन यी महिला ? अनि के हो महिलावादी अनुपम अभियान?

सञ्चालकले अनौपचारिक रुपमा सुरु गरेको कार्यक्रमको सुरुमा बोल्दै सामाजिक व्यक्तित्व नागरिक आवाजका प्रमुख डा. सुसन रिजालले संविधानले व्यवस्था गरे अनुसार महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेका कारण अभियानको सुरुवात गरेका बताउँदै सहभागिताको लागि सबैलाई धन्यवाद र स्वागत गरिन ।  

लगत्तै माइक समाएकी अनुपम अभियानका परिकल्पनाकार तथा सामाजिक अभियन्ता रिता थापाले अनुपम अभियान प्रस्ट्याइन । अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्य अनुसार २०८० देखि २०८४ सम्मका लागि अनुपम अभियान सुरु गरिएको हो। खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पुर्‍याउने लक्ष्य लिएको छ । जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहने छ ।

गठबन्धनका नाममा कानुनलाई नै धज्जी उडाउँदै संविधान प्रदत्त अधिकार समेत खोसिएको अवस्थामा महिलाहरूलाई ‘उप’मा सीमित गराइनु र अर्थपूर्ण सहभागिता नगराइनु नै अनुपम अभियान सुरु हुनेको कारण रहेको उनको भनाई थियो ।  

जिल्लाका ७ स्थानीय तहका उपप्रमुख र अन्य सहभागीहरूलाई कार्यक्रमले तानिरहेको थियो । अनुपम अभियान सुनिसकेपछि रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्यले उप हुनुको पिडा झल्काउँदै अबका दिनमा कुनै पनि ‘उप’ पदमा नजाने घोषणा गरिन । ‘बरु वडा अध्यक्ष हुन्छु तर उप भन्ने पदमा कहिले बस्दिन ।’ उनले महिला जिम्मेवारी पदमा बस्नु पर्ने र चुनावहरूमा राजनीति नहेरेर महिला हेर्नु पर्ने बताईन ।  

सुनिलस्मृती गाउँपालिकाका उपाध्यक्ष मिना थापाले महिलाका लागि महिला उठ्नै पर्ने बताउँदै महिला माथि गरिने व्यवहार गतिलो नभएको बताईन । ‘जनप्रतिनिधि भएको २ बर्ष भयो हामीले भोग्नु परेको समस्या धेरै छन् । अभिव्यक्त गर्न नसके पनि सबै महिला जनप्रतिनिधि समस्या उस्तै हो । हामीले धैर्यता कायम गर्न सक्छौ । ०८४ मा महिला नै पहिला पुरा गर्नका लागि अलि अलि बलियो गरी अभियान सञ्चालन गर्नु पर्छ ।’ उनले जनस्तरमा ‘उप’ भन्ने पद महिलाको नै हो भन्ने धारण बनाएको बताईन ।  

कार्यक्रममा लुङग्री गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी गुरुङ, शिक्षक डिबि टुहुरो, पत्रकार महेश न्यौपाने, कांग्रेस उपसभापति कविता उपाध्याय, पूर्व उपाध्यक्ष हितकुमारी रोका, महिला नेतृ लालकुमारी वली, तुलसा आचार्य लगायतले अनुपम अभियानलाई समर्थन गर्दै आगामी दिनमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुनै पर्ने बताए ।  

कार्यक्रममा कार्यक्रममा रोल्पा नगरपालिकाकी उपप्रमुख गिता आचार्य, सुनिलस्मृती गाउँपालिकाका उपाध्यक्ष मिना थापा, सुनछहरी गाउँपालिकाका उपाध्यक्ष ननकला घर्ती, लुङग्री गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी गुरुङ, माडि गाउँपालिकाका उपाध्यक्ष जयपुरी घर्ती, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रिनी, थवाङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला बुढामगर, पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर लगायत जिल्लाका महिला नेतृहरू, पूर्व जनप्रतिनिधिहरू, सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, पत्रकार, शिक्षक लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।  

गत स्थानीय तहको निर्वाचनमा ७ सय ५३ स्थानीय तह मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन् । यो सङ्ख्या भनेको कुल निर्वाचित सङ्ख्याको ३.३२ प्रतिशत मात्रै हो । त्यसैगरी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ २ सय २५ जना महिला निर्वाचनको मैदानमा भए पनि ९ जना महिला मात्रै निर्वाचित भएका थिए ।  

यति बेला सात वटै प्रदेशमा प्रदेश प्रमुख पुरुष छन् भने राष्ट्र सञ्चालनका प्रमुख पद प्रधानमन्त्रीको जिम्मेवारीमा पनि सधैं पुरुषले नै स्थान लिएका छन् । राष्ट्रपति, उप–राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुरुष–महिलाको वैकल्पिक सिट र संसदको उप–प्रमुख (माथिल्लो र तल्लो सदन दुवैमा), मेयर र उपमेयर जहाँ दुई मध्ये एक महिला हुनुपर्छ भन्ने व्यवस्थालाई कानुनमा छिद्र खोजेर ‘गठबन्धन’ को प्रक्रियाबाट र ‘वा’ जस्ता शब्दावलीको प्रयोगले महिलाको राजनीतिक सहभागितालाई पाखा लगाउने काम भएको छ ।  

यही कुरालाई मध्यनजर गर्दै अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्य अनुसार २०८० देखि २०८४ सम्मका लागि अनुपम अभियान सुरु गरिएको हो । खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पुर्‍याउने लक्ष्य लिएको छ । जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहने छ ।

प्रकाशित: १३ श्रावण २०८२ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App