५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी विभाजनको संघारमाः नेपाल माओवादीसँग लचक, खनाल पुनर्गठनको पक्षमा

नेकपा (एकीकृत समाजवादी) विभाजनको संघारमा पुगेको छ। पार्टी स्थापना भएको तीन वर्षपछि नै अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने भएपछि विभाजनको संघारमा पुगेका हो। 

नेपाल समूहले चुनावअघि नै माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लागेका हुन्। पार्टीका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रतिर नजाने बताइसकेका छन्। खनालले बहुसंख्यक कार्यकर्ता नेकपा एस पुनर्गठन गर्ने निष्कर्षमा पुगेको बताए। खनालले पार्टी नै पुनर्गठन हुन्छ भनिसकेका छन्।  

नेकपा एसका वरिष्ठ उपाध्यक्ष वेदुराम भुसालले अहिले दस्ताबेज आदानप्रदान गर्ने र धेरै विषयमा सैद्धान्तिक सहमित जुटिसकेको बताए। ‘छलफल चलिरहेको छ। दस्तावेज आदानप्रदान कुरा भइरहेको छ,’ नेकपा एसका तर्फबाट वार्ता कार्यदलका संयोजक रहेका बेदुराम भुसालले भने। राष्ट्रिय सम्मेलन गरेर दल दर्ताको समयअघि नै पार्टी एकता घोषणा हुने उनको भनाइ छ । निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि मंसिर १० गतेसम्मको समय तोकेको छ।

पार्टी एकीकरणको प्रक्रिया गएपछि खनाल पक्षका नेताहरू यतिबेला गम्भीर छलफलमा जुटेका छन्। महासचिव घनश्याम भुसालको नेतृत्वमा छलफलमा जुटेका हुन्। उनीहरूले पार्टीलाई पुनर्गठन गरेर लैजाने बताएका छन्। उनीहरूले माधव नेपालले आन्दोलनलाई धोका दिएको बताएका छन्।  

वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालका अनुसार एकतापछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेलिनवाद रहनेछ। त्यस्तै पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद बनाउने संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहनेछ। पार्टीको नाम नेकपा समाजवादी हुने सम्भवना छ। निर्वाचन आयोगमा पहिले नै नेकपा समाजवादी दर्ता भएकाले त्योसँग एकता गरेर उक्त नाम राखिने भएको छ। ‘पार्टीको नाम नेकपा समाजवादी हुन्छ,’ बेदुराम भुसालले भने।

एकतापछि चुनाव चिह्न कलम राख्ने सहमति भए पनि त्यसलाई बाहिर ल्याइएको छैन। हसिया–हथौडाभन्दा जनतामा कलम चिह्न बढी सहज हुने उनीहरूको बुझाइ छ। राष्ट्रिय सम्मेलनपछि एकताको घोषणा हुने पार्टीमा बहुपदाधिकारी नहरने भएका छन्। नेकपा कालमा बहुपदाधिकारी बनाउँदा समस्या भएको भन्दै अब कमसेकम एकता महाधिवेशन नहुँदासम्म त्यो कायम रहनेछ। एकता महाविधेशन कहिले गर्ने भन्ने विषय भने टुंगिन बाँकी छ। एकता महाधिवेशनसम्म संयोजकबाटै काम चलाउने पनि भुसालको भनाइ छ।

प्रकाशित: ९ कार्तिक २०८२ १९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App