१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । पार्टीको तेस्रो विस्तारित केन्द्रीय समितिको बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रकाश ज्वालाले भने, ‘हामीले यो बैठकमा सबैभन्दा धेरै छलफल भएको र बैठक बाहिर पनि आम चासोका रुपमा लिएको विषय बाम एकताको विषय हो । यो विषयमा हाम्रो पार्टीको यो बैठकले महत्वपूर्ण निर्णय गरेको छ । त्यो निर्णय भनेको नेकपा माओवादी केन्द्रलगायतका दलसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । त्यसको सम्पूर्ण जिम्मेवारी सचिवालयलाई दिइएको छ । अब एकताको बाँकी काम पार्टीको सचिवालयले गर्नेछ ।’

बैठक र पार्टीले अघि बढाएको एकताको प्रसंग उठाउँदै उनले भने, ‘हामीले नीतिगत रुपमा पार्टी एकता गर्ने निर्णय गरेका छौँ । यसको सम्पूर्ण निर्णय गर्ने काम सचिवालयले गर्नेछ । यो पार्टीको सर्वसम्तको निर्णय हो । छलफल हुँदा सबै साथीहरूले आफ्नो कुरा राख्नु भयो । हाम्रो कम्युनिष्ट पार्टीमा जनवादी रुपमा खुलाखुलस्त रुपमा छलफल गर्छौँ र सर्वसम्मतले निर्णय गर्छौँ । भएन भने बहुमतले निर्णय गर्छौँ । पार्टी एकताको विषयमा हाम्रो बैठकले सर्वसम्मत निर्णय गरेको हो ।’

त्यस्तै बैठकले जेन-जीका माग पूरा गर्न सबै तत्पर हुनुपर्ने प्रस्ताव पारित गरेको ज्वालाले बताए । उनले भने, ‘भदौ २३ गतेको आन्दोलन विशुद्ध जेन-जीको आन्दोलन हो । जुन ऐतिहासिक आन्दोलन हो । जसले कुशासन, भ्रष्टाचारको, सामाजिक सञ्जाल बन्दको विरुद्धमा थियो । यी माग हाम्रा पनि हुन् यी पूरा हुनुपर्छ । त्यो दिन जेन-जीमाथि गरिएको आक्रमण गर्ने र भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा संलग्नलाई कडा कारबाही गर्न हामीले माग गरेका छौँ ।’

त्यस्तै लाभको पदमा रहेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने र त्यसका लागि उच्चस्तरीय आयोग बनाउने पर्ने त्यो आयोगले दोषी ठहराएकालाई कडा कारबाही गर्नुपर्ने मागसहितको अर्को प्रस्ताव पनि बैठकले पारित गरेको उपमहासचिव ज्वालाले बताए ।

बैठकले जेन-जी आन्दोलनका नाममा सम्मानित नेता झलनाथ खनालको घरमा भएको आगजनी तथा खनाल पत्नी रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणको भत्सना गर्दै स्वास्थ्य लाभको कामना गरेको ज्वालाले बताए । साथै पार्टीका केन्द्रीय सदस्यको परिवारमा भएका शोकको घटनामा शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको बताए ।

प्रकाशित: १४ कार्तिक २०८२ १९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App