नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत वर्षको भदौ २४ गतेको घटनाक्रम सम्झिँदै आफूले सेनाको ब्यारेक भित्र रात बिताउनुपरेको अनुभव सुनाएका छन्।
बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले भदौ २४ गते सिंहदरबारभित्रै थुनिएपछि ज्यान जोगाउन सेनाको शरण लिनुपरेको र भोलिपल्ट बिहानै ४ बजे त्यहाँबाट निस्कनुपरेको बताएका हुन्।
नेता नेपालका अनुसार भदौ २४ गते तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा नेपालसहित नेता महेन्द्रराय यादव लगायतका शीर्ष नेताहरू उपस्थित भएर संयुक्त वक्तव्य जारी गरेका थिए।
‘वक्तव्य जारी गरेर बाहिर निस्कन खोज्दा सडकको वातावरण अत्यन्तै तनावपूर्ण भइसकेको थियो,’ नेपालले स्मरण गरे, ‘त्यहाँबाट बाहिर निस्कने कुनै उपाय थिएन। त्यसपछि हामी आफ्नै दलको कार्यालयमा आएर बस्यौं।’
दलको कार्यालयमा पुगेपछि कता जाने भन्ने अन्योल भयो। बाहिर नेताहरूका घरमा आगो लगाउने र भौतिक आक्रमण गर्ने क्रम तीव्र भइसकेको थियो।
‘हाम्रो सुरक्षामा खटिएका सुरक्षाकर्मीले यहाँबाट कतै निस्कने अवस्था छैन, सुरक्षाको कुनै ग्यारेन्टी छैन। सिंहदरबारभित्रै सेनाको क्याम्प छ, त्यहीँ भित्र जाऔं भने। त्यसपछि हामी सेनाको क्याम्पभित्र पुग्यौं र त्यहीँ बस्यौं।’
सेनाको क्याम्पभित्र पुग्दा आफूजस्तै राज्यका अन्य विशिष्ट व्यक्तिहरू पनि त्रासमा शरण लिन पुगेको उनले देखे। ‘हामी जुन ठाउँमा थियौं, त्यहाँ अर्को कोठामा सर्वोच्च अदालतका न्यायाधीशहरू पनि शरण लिन पुग्नुभएको रहेछ,’ नेपालले भने, ‘त्यो बेला राज्यका अङ्गहरू कति भयभीत र असुरक्षित थिए भन्ने कुरा त्यसैबाट प्रस्ट हुन्छ।’
नेता नेपालले त्यो रात आफूलाई ब्यारेकभित्र बस्न पटक्कै मन नलागेको बताए। ‘म त राति नै निस्कन खोजेको थिएँ, तर बाहिरको परिस्थिति अत्यन्तै खराब थियो,’ उनले भने, ‘त्यसपछि बिहान ४ बजे झिसमिसेमै म त्यहाँबाट निस्किएँ। त्यहाँबाट निस्किएर एक जना साथीको आग्रहमा पाटनस्थित उहाँको घरमा गएर शरण लिएँ।’
त्यो घटनापछि करिब तीन-चार महिनासम्म आफू आफ्नै देशमा शरणार्थी जस्तै बनेर हिँड्नुपरेको पीडा उनले पोखे। ‘मेरो घर, भाइहरूको घर सबै जलाइयो। त्यसपछि ३-४ महिना कहिले भक्तपुर, कहिले काठमाडौं त कहिले पाटनमा साथीभाइको घरमा बसेँ। म एउटा ठाउँमा बस्थेँ, श्रीमती अर्को ठाउँमा, परिवारका अन्य सदस्य अर्कै ठाउँमा बस्नुपर्ने अवस्था आयो,’ पूर्वप्रधानमन्त्री नेपालले भने।
प्रकाशित: ७ आश्विन २०८३ १९:४२ बुधबार




-600x400.jpg)
