१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

गण्डकी सरकारबाट बाहिरियो एमाले

नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट एमाले बाहिरिएको हो। गण्डकी प्रदेशमा एमालेबाट प्रतिनिधित्व गरी सरकारमा गएका चार जना मन्त्रीहरूले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामूहिक राजीनामा पत्र बुझाएका हुन्।

पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए।

यसअघि मंगलबार बसेको प्रदेश संसदीय दलको बोर्ड बैठकले कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सो बैठकले पार्टीबाट पाण्डे नेतृत्वको सरकारमा गएका मन्त्रीहरूलाई राजीनामा दिन भनेको थियो। बोर्डको सो निर्णयलाई बुधबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले सदर गरेको थियो।

यसअघि अन्य प्रदेशमा एमाले–नेकपा गठबन्धन अनुसार सरकार बने पनि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा एमाले बसिरहेपछि सत्तालोलुपको आरोप लाग्दै आएको थियो। त्यही सन्दर्भमा मुख्यमन्त्री पाण्डेले एमालेले आफू नेतृत्वको सरकार नछाडेकोमा आश्चर्य व्यक्त गरेका थिए।

उनले आफैले सरकार छाडेर नगए एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नेबारे पनि आफूहरूले सोचिरहेको बताएपछि एमाले झस्किएको थियो। मुख्यमन्त्रीको सो अभिव्यक्ति आएको भोलिपल्टै एमालेले सरकारबाट बाहिरिने निर्णय लिएपछि मन्त्रीहरूले राजीनामा दिएका हुन्।

राजीनामा पत्र बुझाउँदै एमालेबाट सरकारको नेतृत्व गरेका गोविन्दबहादुर नेपालीले पार्टी र संसदीय दलको निर्णय अनुसार आफूहरूले राजीनामा दिएको बताए।

सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा मुख्यमन्त्री पाण्डेलाई धन्यवाद दिँदै उनले भने,‘यो हाम्रो कारणले सरकार छाडेका होइनौँ, केन्द्रमा भएको समीकरण फेरबदलको असर यहाँ पनि देखिएको मात्र हो।’

राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सरकारमा रहेर सहकार्य गरेकोमा मन्त्रीहरूलाई धन्यवाद दिए। ‘राजनीतिमा सहकार्य गर्ने र टुट्ने भइरहन्छ’,उनले भने,‘पहिले सहकार्य भयो, अहिले सहकार्य टुटेको छ, फेरी भोलि सहकार्य हुन पनि सक्छ, त्यसैले अहिलेको परिस्थितिलाई लिएर अप्ठ्यारो नमान्नुहोला।’

एमाले मन्त्रीहरूले छाडे पनि मुख्यमन्त्री पाण्डेले तत्काल विश्वासको मत लिन भने नपर्ने भएको छ। एमालेले पहिले पनि विश्वासको मत नदिएको तथा पहिले सरकार बनाउँदा साथ दिएका राप्रपा र माओवादीको चुनाव चिह्नबाट निर्वाचित नय शक्ति पार्टीका फडिन्द्र देवकोटाले समर्थन यथावत् राखेकाले पाण्डेलाई विश्वासको मत लिनुपर्ने बाध्यता नरहेको हो।

यद्यपी एमाले–नेकपा नेतृत्वमा सरकार गठनको प्रयास भने सुरु हुने नेताहरूले बताएका छन्। राप्रपालाई विश्वासमा लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वमा सरकार बनाउने प्रयासमा एमाले रहेको छ।

तर गण्डकीमा सङ्ख्यात्मक हिसाबले त्यो सम्भावना निकै न्यून देखिन्छ। गण्डकीमा एमाले र नेकपा बिना नै वर्तमान सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको बहुमत पुग्ने देखिन्छ।

६० सदस्यीय प्रदेश सभामा राजीव गुरुङ उर्फ दीपक मनाङे निलम्बित रहेकाले हाल ५९ सदस्यीय रहेको छ। जसमा कांग्रेसको २७ सहित राप्रपाको दुई र तत्कालीन माओवादीको चुनाव चिह्नबाट निर्वाचित नय शक्ति पार्टीका सांसद फडिन्द्र देवकोटाको समर्थन यथावत् रहेकाले पाण्डेको बहुमत यथावत् छ भने अहिलेसम्म कसैले पनि समर्थन फिर्तासमेत नलिएकाले विश्वासको मत पनि लिनुपर्दैन।

अधिकारी नेतृत्वमा सरकार बनाउन एमालेले राप्रपालाई पकाइरहेको छ । एमालेको २२ र नेकपाको सभामुखबाहेक ६ सदस्य भएकाले राप्रपाले समर्थन गरेमा बहुमत पुग्ने देखिन्छ।

तर तत्कालीन खगराज अधिकारीलाई समर्थन नगरेको राप्रपा र नय शक्तिका देवकोटाले तत्काल कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएर एमाले–नेकपाको सरकार बनाउन सहयोग नगर्ने कांग्रेसको दाबी छ।

बरु आफू नेतृत्वको सरकारमा देवकोटा सामेल हुने मुख्यमन्त्री पाण्डेले दाबी गर्दै आएका छन्। पाण्डे नेतृत्वमा सरकार बनाउन तत्कालीन माओवादीको ह्विप उलंघन गर्दै मत दिएका उनी सरकारमा समेत गएका थिए। तर जेनजी आन्दोलनमा भएको बालबालिकाको हत्या र वितण्डाप्रति असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १० भाद्र २०८३ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App