नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा बढ्दो अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध एमाले सशक्त रूपमा सडकमा उत्रने बताएका छन्।
सोमबार राजधानीमा आयोजित एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन्।
उनले नयाँ दल र स्वतन्त्रहरूको नाममा देखिएको गतिविधिलाई अराजकता बताउँदै त्यसलाई परास्त गर्न एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गर्ने घोषणा गरे।
बस्नेतले आगामी माघ ९ गते काभ्रेको धुलिखेलमा १० हजार युवाहरूलाई भेला गराएर ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गरिने जानकारी दिए। उनले भने, ‘यो फोर्स निर्वाचनमा एमालेको भोट रक्षा गर्न र अराजकता फैलाउनेहरूलाई तह लगाउन परिचालन हुनेछ।’
उनले एक टोल, एक सय युथको अवधारणा अनुरूप प्रत्येक टोलमा बुथ सुरक्षा समिति गठन गरिने बताए। ‘हाम्रा नेतालाई लखेट्ने भन्ने कुरा अब सह्य हुँदैन, सिंहदरबार जलाउनेहरूलाई तह लगाउन जनताको साथ लिएर लठ्ठिवाला फोर्स तयार गर्नुपर्ने अवस्था आएको छ,’ बस्नेतले भने।
सम्बोधनका क्रममा बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहलगायतका नयाँ शक्तिहरूप्रति आक्रामक रूपमा प्रस्तुत भए। उनले रवि लामिछाने र बालेन शाहहरू सामाजिक सञ्जालको भ्रम र विदेशी शक्तिले खडा गरेका पानीका फोका भएको बताए।
‘रवि लामिछानेले पार्टी खोलेर राष्ट्रियता बलियो बनाएको होइन, बरु राष्ट्रिय झुकाउने काम गरेको छ,’ बस्नेतले आरोप लगाए। उनले नयाँ शक्तिहरू एमालेलाई रोक्न खडा गरिएको भन्दै तिनको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए।
वर्तमान सरकार विदेशीको इसारामा चलेको र देशको अर्थतन्त्र तथा राष्ट्रियता ध्वस्त पारेको आरोप लगाउँदै बस्नेतले माघ ४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने घोषणा गरे।
भृकुटीमण्डपबाट सुरु हुने उक्त प्रदर्शनमा २० औं हजार कार्यकर्ता उतार्ने एमालेको तयारी छ। उनले भने, ‘यो सरकार परमादेशबाट बनेको र विदेशी प्रभुको आशिर्वादमा टिकेको छ। यसले देशलाई बर्बादीतर्फ लैजाँदै छ। त्यसैले एमाले अब टुलुटुलु हेरेर बस्दैन।’
बस्नेतले पार्टीभित्र टिकटका लागि नेताको घर धाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। उनले भूगोल र सम्पर्क कमिटीबीचको खाडल पुर्दै एमालेलाई एकल बहुमत दिलाउन सबै एकताबद्ध हुनुपर्ने बताए।
‘अब नेता रिझाएर होइन, काम र नतिजा देखाएर मात्र टिकट पाइन्छ। जसले जित्छ, उसैले टिकट पाउँछ,’ उनले भने।
प्रकाशित: २८ पुस २०८२ १५:३१ सोमबार





